बेदकोट उपभोक्ता समिति अध्यक्ष कठायतको मनोमानी, इकाई समूह गठनमा बखेडा

धर्मा रोकाया, महेन्द्रनगर – बेदकोट उपभोक्ता समिति अध्यक्ष अर्जुन कठायतले बेदकोट नगरपालिका वडा नं. १० मा उपभोक्ता इकाई समूह गठनमा मनोमानी गरेको आरोप लागेको छ। उक्त वडामा रहेका दुई इकाई समूहमध्ये नयाँगाउँ उपभोक्ता इकाई समूहबाट दुई जना र चथरी इकाई समूहबाट तीन जना गरी जम्मा पाँच जना प्रतिनिधि चयन हुने प्रावधान छ। तर, अध्यक्ष कठायतले नयाँगाउँ उपभोक्ता इकाई समूहबाट आफुलाई दादागिरी शैलीमा प्रतिनिधि छनोट गरेको स्थानीयको गुनासो छ।

नयाँगाउँ इकाई समूह गठनका लागि वैधानिक रूपमा सक्रिय सात वटा समूह (जानकी, चाहना, सरस्वती, भगवती, जनज्योति, रानी, र खप्तड उपभोक्ता समूह) बाट दुई-दुई जना प्रतिनिधि चयन गरिनु पर्ने भए पनि अध्यक्ष कठायतले चाहना, जनज्योति, खप्तड तथा अवैधानिक सिद्धनाथ समूहका प्रतिनिधिलाई मात्र मिटिङमा सहभागिता गराएर आफ्नो छनोट सुनिश्चित गरेको बताइएको छ।

मिटिङमा सहभागिता जनाएका मध्ये जनज्योति समूहका आधिकारिक प्रतिनिधि कल्पना साउद र सारदा रोकायालाई प्रवेश नै गर्न नदिइएको आरोप छ। उनीहरूको सट्टा अरू व्यक्तिलाई प्रतिनिधि बनाएर सहभागी गराइएको थियो। त्यस्तै, चाहना समूहका दुई प्रतिनिधिमध्ये गंगा कठायतले बैठक नै बहिष्कार गरेका थिए।

अवैधानिक कागजात प्रयोग गरिएको आरोप चाहना समूहका अध्यक्ष गंगा कठायतका अनुसार सिद्धनाथ समूह सक्रिय नभए पनि अध्यक्ष कठायतले आफ्ना निकट व्यक्तिलाई प्रतिनिधि बनाउन फर्जी कागजातमार्फत वैधानिकता प्रदान गरेका थिए। सात वटा सक्रिय उपभोक्ता समूह रहेका भए पनि अध्यक्ष कठायतले तीन वटा समूहका प्रतिनिधिलाई मात्र बैठकमा सहभागी गराएको आरोप छ।

भगवती उपभोक्ता समूहकी अध्यक्ष गंगा कठायतका अनुसार जानकी, सरस्वती, रानी र भगवती उपभोक्ता समूहका प्रतिनिधिलाई बैठकमा प्रवेश नै दिन नखोजिएपछि उनीहरूले विरोध जनाएका थिए।

नवीकरणमा पनि हस्तक्षेप अध्यक्ष अर्जुन कठायतले आफ्ना निकट व्यक्तिहरू मात्र प्रतिनिधि बन्ने सुनिश्चित गर्न सक्रिय उपभोक्ता समूहहरूको नवीकरण समेत रोकेको आरोप छ। बेदकोट उपभोक्ता समितिका अध्यक्षका रूपमा रहेका उनले भेराल, नवदुर्गा र कैलास उपभोक्ता समूहलाई नवीकरण गर्न नदिएको स्थानीयहरूले बताएका छन्। यस्ता समूहहरूले बचत कार्यक्रमदेखि विभिन्न क्रियाकलाप सक्रिय रूपमा सञ्चालन गर्दै आएका थिए।

पहिलेदेखि नै मनपरी वडा नं. १० मा चाहना र सरस्वती उपभोक्ता समूह गठनमा पनि कठायतले मनपरी गरेको आरोप छ। ३४ जना उपभोक्ता रहेको समूहमा बाहिरी व्यक्तिलाई ल्याएर २७ जनाको उपस्थिति देखाई प्रतिनिधि छनोट गरिएको थियो। यस्तै, सरस्वती समूहमा पनि उपभोक्तालाई जानकारी नदिई प्रतिनिधि छनोट गरिएको स्थानीयको आरोप छ।

विरोध भएपछि अध्यक्ष कठायतले गल्ती स्वीकार्दै विवाद भएका समूहको प्रतिनिधि पुनः चयन गर्ने प्रतिबद्धता जनाएका थिए। पछि गाउँमै गएर नयाँ प्रतिनिधि छनोट गरिएको थियो।

अध्यक्षका रूपमा दुई कार्यकाल पूरा गरिसकेका अर्जुन कठायत पुनः अध्यक्ष बन्नकै लागि उपभोक्ता समूह गठनदेखि इकाई समूह गठनसम्म हस्तक्षेप गरिरहेको स्थानीयको आरोप छ।

स्थानीयहरूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणका लागि गठन गरिने समितिमा समेत निश्चित व्यक्तिलाई मात्र समावेश गरी अन्य समुदायलाई बेवास्ता गरिने गुनासो गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित