काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले विगतका कमजोरीकै कारण इतिहास बनिसकेको राजतन्त्रले पुनः टाउको उठाउन खोजेको बताएका छन्।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित समाजवादी मोर्चाको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्ध र जनआन्दोलनको माध्यमबाट सामन्ती राजतन्त्रको अन्त्य गरिए पनि संविधान जारी भएपछिका केही कमजोरीका कारण राजतन्त्र पक्षधरहरू सक्रिय हुन खोजेको बताए।
‘हामी गणतन्त्रवादीहरूले केही कमजोरी गरेकैले दलाल नोकरशाहीहरूले लाभ उठाउने अवसर पाए, तर अब त्यो सच्याइनेछ,’ उनले भने।
उनले समाजवादी मोर्चा र व्यक्तिगत रूपमा आत्मआलोचना गर्दै जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाए। साथै, मजदुर, किसान, उत्पीडित जनता, महिला, मुस्लिम सबैका पक्षमा काम गर्दै अर्को क्रान्तिको नेतृत्व गर्न तयार रहेको उल्लेख गरे।
‘गल्तीबाट शिक्षा लिँदै, नयाँ आन्दोलन र नयाँ क्रान्तिको नेतृत्वद्वारा अहिले देखिएका समस्या समाधान गर्नेछौं,’ प्रचण्डले जोड दिए।
Discussion about this post