१५ चैत, काठमाडौं । समाजवादी मोर्चाले शुक्रबार भएको प्रदर्शनका क्रममा राजावादी समूहबाट उच्छृङ्खल गतिविधि भएको भन्दै त्यसलाई अराजकताको संज्ञा दिएको छ।
राजावादी र गणतन्त्र पक्षधरहरूबीच काठमाडौंमा प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी भएका घटना प्रति समाजवादी मोर्चाले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको हो। मोर्चामा आवद्ध शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरेको विज्ञप्तिमा ‘उच्छृङ्खल र अराजक गतिविधिको घोर भत्र्सना’ गरिएको उल्लेख छ।
विज्ञप्तिमा तोडफोड तथा आगजनीमा संलग्नहरूलाई कारबाहीको माग गर्दै भनिएको छ, ‘यस कार्यमा संलग्न आपराधिक र आततायी तत्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्दछौं।’
मोर्चाले नेकपा एकीकृत समाजवादीको काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज नेपालको निजी निवासलगायत स्थानमा भएको तोडफोड र आगजनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
राजावादी शक्तिहरू पुनरुत्थानवादी शैलीमा उच्छृङ्खल गतिविधि गर्दै अघि बढेको निष्कर्ष निकाल्दै मोर्चाले सरकारलाई राजनीतिक दलका कार्यालय तथा नागरिकको सुरक्षाका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।
Discussion about this post