महेन्द्रनगर । भीमदत्त नगरपालिकाले सांस्कृतिक पहिचान तथा परम्परागत बाजाको संरक्षण गर्ने उद्देश्यले १५ दिने दमाह बाजा सम्बन्धी तालिम सुरू गरेको छ। नगरप्रमुख पदम बोगटीको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित कार्यक्रममार्फत तालिमको औपचारिक शुभारम्भ गरिएको हो।
तालिममा स्थानीय दमाह बजाउने समुदायका सदस्य, सांगीतिक रुचि भएका युवा तथा संस्कृति प्रेमीहरूको सहभागिता रहेको छ। प्रशिक्षकका रूपमा परम्परागत दमाह वादकहरूले सीप हस्तान्तरण गर्नेछन्।
नगरप्रमुख बोगटीले सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धन आफ्नो प्राथमिकता भएको बताउँदै यस्ता तालिमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। “पछिल्लो समय परम्परागत बाजा ओझेलमा पर्दै गएका छन्, त्यसैले यसको पुनर्जागरण गर्न तालिमको आयोजना गरिएको हो,” उनले भने।
भीमदत्त नगरपालिका सामाजिक विकास समितिका संयोजक सुशिल भट्टले तालिमले युवाहरुलाई परम्परागत बाजा बनाउन र बजाउन सीप हस्तान्तरण गर्ने बताए। कार्यपालिका सदस्य हरिहर परियारले दमाह बाजा हाम्रो संस्कृतिसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै नयाँ पुस्तामा यसको रुचि जागृत गराउन तालिम आवश्यक रहेको बताए।
नगरपालिकाले पहिलो चरणमा १८ जनालाई तालिम दिने जनाएको छ। सहभागीहरूले परम्परागत बाजा सिक्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै नगरपालिकालाई धन्यवाद दिएका छन्।
उक्त कार्यक्रममा भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, कार्यपालिका सदस्य गणेश आग्री, नगरपालिकाका कर्मचारी, प्रशिक्षक, प्रशिक्षार्थी लगायतको उपस्थिति रहेको थियो।
Discussion about this post