भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका क्षेत्रमा आक्रमण गरेपछि भारतको पञ्जाब राज्यका सीमावर्ती गाउँहरूमा त्रासको वातावरण फैलिएको छ । फिरोजपुर जिल्लाको हुसैनीवाला सीमा नजिकका करिब १२ देखि १४ गाउँहरूका बासिन्दाहरूले आफ्नो घर छाड्न थालेका छन् ।
डरले भरिएका गाउँलेहरू ट्रयाक्टर–ट्रलीमा आवश्यक सामानहरू लोड गर्दै सुरक्षित स्थानतिर – टाढा गाउँ वा आफन्तको घरतिर सरिरहेका छन् । बीबीसीले सीमाबाट हट्दै गरेका धेरै परिवारहरूसँग कुराकानी गर्दा उनीहरूले युद्धको सम्भावनाका कारण ज्यान जोगाउन बाध्य भएर बसाइँ सरेको बताएका छन् ।
तर, आफ्नो सम्पत्ति र घरको सुरक्षाका लागि हरेक परिवारबाट एक वा दुई जना गाउँमै रहने व्यवस्था गरिएको छ । झुगे हजारा सिंह गाउँका जीत सिंह भन्छन्, “यहाँ डरको वातावरण छ । मानिसहरू आफ्नो ज्यान जोगाउन आफन्तको घर जाँदैछन् ।“
उता, पञ्जो बाई नाम गरेकी एक वृद्धाले भने, “हामी हाम्रो अन्न लिएर मोगा जिल्लातिर गइरहेका छौं । यहाँ युद्धको खतरा छ र पाकिस्तानले रातमा आक्रमण गर्न सक्ने डरले हामी पलायन गर्न बाध्य भएका हौं ।“
सीमावर्ती क्षेत्रमा बढ्दो तनावका कारण सामान्य जनजीवन अस्तव्यस्त भएको छ र स्थानीय प्रशासनले पनि मानिसहरूलाई सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको छ ।
Discussion about this post