हेटौँडा — हेटौँडाको गैरीगाउँमा गत शुक्रबार जमिन भासिँदा हराएको गाडीको खोजी कार्यमा खानी तथा भूगर्भ विभागका विज्ञहरूले स्थलगत अध्ययन थालेका छन्
। ना ४ च ४८३३ नम्बरको घाँस काट्ने मेसिनसहितको गाडी जमिन भासिँदा बेपत्ता भएपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद् टोलीको सहयोगमा अनुसन्धान अघि बढाएको हो ।
मङ्गलबार बिहान ९ बजेबाट वरिष्ठ भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा अध्ययन टोलीले काम सुरु गरेको हो । टोलीमा भूगर्भविद् कृष्ण पाण्डे, मणी खनालसहित चार जना विशेषज्ञ सहभागी छन् । उनीहरूले दिनभर विभिन्न वैज्ञानिक प्रविधिको प्रयोग गरी घटनास्थलको विस्तृत विश्लेषण गरेका छन् ।
टोलीले मुख्यतः ‘प्रोटोन म्याग्नेटो मिटर’ र ‘पावर अगर’ प्रविधिको प्रयोग गरेको छ। म्याग्नेटो मिटरले चुम्बकीय क्षेत्रका आधारमा फलामजन्य वस्तुहरूको संकेत दिन्छ भने पावर अगर विधिबाट जमिनको भित्री बनावट पत्ता लगाउन ड्रिलिङ गरिएको हो ।
प्रारम्भिक अध्ययनबाट सो क्षेत्रको भूगर्भिक बनावट अत्यन्तै कमजोर र तरलतायुक्त रहेको पाइएको भूगर्भविद् अधिकारीले बताए। सतही भागमा केही मात्रामा कडा माटो भए पनि तलतिर बालुवा र दलदल मिश्रित माटो रहेको अध्ययनले देखाएको छ। पाँच मिटर गहिराइदेखि बालुवायुक्त तह भेटिएको र त्यहाँ सानो दबाब परे पनि जमिन तरल भएर भासिने खतरा रहेको विज्ञहरूले बताएका छन्।
गाडीको सटीक लोकेसन पत्ता लगाउन गरिएको अनुसन्धानमा खाल्डो परेको स्थानभन्दा केही पूर्वतर्फ चुम्बकीय आकर्षण तीव्र पाइएको छ। म्याग्नेटो मिटरले फलामजन्य वस्तु संकेत गरेपछि तीन स्थानमा पावर अगर प्रविधिबाट ड्रिलिङ गर्दा दुई ठाउँमा करिब ५.४० र ५.६० मिटर गहिराइमा कडा वस्तु भेटिएको टोलीले जनाएको छ।
यद्यपि, भेटिएको वस्तु हराएको गाडी नै हो भन्ने पुष्टि नभएको भूगर्भविद्हरूले प्रष्ट पारेका छन्। अनुसन्धानको आधारमा गाडीको अवस्थिति नजिकिएको अनुमान गरिएको छ। बुधबार बिहानदेखि पुनः ड्रिलिङ गरी थप पुष्टि गर्ने तयारी गरिएको छ।
स्थानीय निकाय र सुरक्षाकर्मीको तीन दिनसम्मको प्रयासमा पनि गाडी फेला नपरेपछि भूगर्भ विभागसँग समन्वय गरिएको हो। घटनाले हेटौँडाको भूगर्भीय संवेदनशीलता र जमिनको संरचनाप्रति गम्भीर प्रश्नहरू उठाएको छ। स्थानीय बासिन्दा त्रसित छन्, भविष्यमा यस्ता दुर्घटना दोहोरिन सक्ने जोखिमका कारण सतर्कता अपनाउनुपर्ने चेतावनी विज्ञहरूले दिएका छन्।
गाडीको वास्तविक अवस्था र भूगर्भीय जोखिमबारे अझ विस्तृत अनुसन्धान जारी छ ।
Discussion about this post