कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकाय र दक्षिण कोरियाको काङ्वोन नेशनल युनिभर्सिटी अन्तर्गत इलेक्ट्रोनिक तथा एआई प्रणाली इन्जिनियरिङ विभागबीच शैक्षिक तथा अनुसन्धान क्षेत्रमा सहकार्य गर्न समझदारीपत्र (MoU) आदान–प्रदान गरिएको छ।
शैक्षिक तथा अनुसन्धान क्षमताको विकासका लागि पाँच वर्षे अवधिको उक्त MoU मा संयुक्त अनुसन्धान परियोजना सञ्चालन, अनुसन्धान प्रस्ताव तयारी, गोष्ठी, सम्मेलन तथा कार्यशालाजस्ता कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
सम्झदारीअनुसार अब दुवै विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकबीच आदान–प्रदान कार्यक्रम पनि सञ्चालन हुनेछन्, जसबाट आपसी अनुभव, ज्ञान र प्रविधिको आदान–प्रदान हुनेछ।
MoU मा काङ्वोन युनिभर्सिटीतर्फबाट विभाग प्रमुख प्रा. डा. वाङ चो र सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन किसन दत्त भट्टले हस्ताक्षर गरेका हुन्। सम्झदारीपत्र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तको उपस्थितिमा आदान–प्रदान गरिएको थियो।
दुवै संस्थाले दीर्घकालीन मित्रवत् सम्बन्ध, आपसी विश्वास र साझा हितका आधारमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यो समझदारीले सुदूरपश्चिमको उच्च शिक्षामा अन्तर्राष्ट्रिय अनुभव थपिने विश्वास लिइएको छ।
Discussion about this post