भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकको प्रतिक्रिया : ‘मन्त्रालयले आजै विज्ञप्ति निकाल्छ, म पछि आफैँ बोल्छु’

जनकपुरधाम — भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका आरोपहरूबारे गृहमन्त्री रमेश लेखकले केही दिनभित्र स्पष्ट धारणा सार्वजनिक गर्ने बताएका छन्। शनिबार धनुषामा आयोजित नेपाली कांग्रेसको कार्यकर्ता भेलामा सहभागी हुँदै गृहमन्त्री लेखकले उक्त भनाइ राखेका हुन्।

कार्यकर्तासँगको छलफलमा एकजना सहभागीले ‘तपाईं त चक्रव्यूहमा फसेको जस्तो देखिन्छ’ भन्ने टिप्पणी गरेपछि गृहमन्त्री लेखकले सामाजिक सञ्जालमा भिजिट भिसासँग जोडेर आफ्नो नाम मुछिनुका पछाडि रहेका कारणबारे बुझ्ने क्रममा रहेको बताए।

उनले भने, “केही दिनदेखि सामाजिक सञ्जालमा मेरो बारेमा विभिन्न लेखाइहरू भइरहेका छन्। म चुप लागेर बसेको थिएँ। तर अब मैले धेरै कुरा बुझिसकेको छु। आज काठमाडौं फर्किएपछि गृह मन्त्रालयले नै विज्ञप्ति जारी गर्छ र म पनि दुई–चार दिनमै सार्वजनिक रूपमा धारणा राख्छु।”

उनका अनुसार यस विषयमा पार्टी कार्यकर्ताहरू चिन्तित नहुनुपर्ने स्पष्ट गर्दै उनले आफ्नो राजनीतिक जीवनमा कुनै पनि अनैतिक काम नगरेको दाबी गरे। “जीवनभर पार्टीको इज्जत बचाउँदै राजनीति गरेँ। कुनै दिन मेरा हातबाट गलत काम भयो भने त्यस दिनदेखि म राजनीति नै छाड्छु,” गृहमन्त्री लेखकको भनाइ थियो।

उनले आफूविरुद्ध उठेका सबै आरोपबारे तथ्यसहित स्पष्ट जवाफ दिने प्रतिबद्धता जनाएका छन्।

भिजिट भिसाको नाममा मान्छे विदेश पठाएबापत मन्त्रीको नाममा दैनिक ५० लाख आउने गरेको सम्म आरोप छ । सार्वजनिक भएका समाचारअनुसार त प्रधानमन्त्री र गृहमन्त्रीको नाम लिएर नै असुली धन्दा चलिरहेको थियो । गृहमन्त्री लेखक अध्यागमनका भट्टराई पक्राउ प्रकरणसँगै जसरी दागीको आरोपमा छन्, त्योभन्दा पहिला पनि प्रश्न नउठेको भने होइन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सरुवा, बढुवामा भएका अनियमितताका प्रकरणले पनि लेखकमाथि प्रश्न नउठेको होइन । तर, मन्त्री लेखकको मौनताले विषयान्तर हुँदै आएको थियो ।

भिजिट भिसामा खाडी मुलुक र युरोप पठाउन संलग्न गिरोहसँग मिलेको आरोपमा आयोगको अनुसन्धानमा रहेका तीर्थराज भट्टराईसहित पाँच जना तारिखमा छुटेका छन् । गृह मन्त्रालयले भट्टराई पक्राउ पर्नुअघि नै (मंगलबार) राति नै प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई तानेर उनका ठाउँमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई सरुवा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित