कञ्चनपुर- देशभर राजनीतिक नेतृत्व, जनप्रतिनिधि, कर्मचारीदेखि न्यायपालिकासम्ममाथि कालोमोसो दल्ने घटनाहरू तीव्र गतिमा बढिरहेका छन् । खासगरी कम्युनिस्ट युवा संगठन नेपालले पछिल्लो समय यसलाई जनकारबाहीको स्वरूपमा अघि बढाउँदै आएको छ । यो घटनाक्रमले एकातर्फ सत्ता संरक्षित भ्रष्टाचार, अनियमितता र कुशासनविरुद्धको जनअसन्तोष उजागर गरिरहेको छ भने अर्कोतर्फ आम जनमानसको दबिएको भावना र आक्रोशलाई पनि उजागर गरिरहेको छ ।
जनताले वर्षौंदेखि भोग्दै आएको विकासविहीनता, सेवामा भ्रष्टाचार, न्यायकालीन अन्याय, र शासन प्रणालीप्रति निराशाले गर्दा आज ती पात्रहरू जुन उच्च पदमा बसेर जनताको सेवा गर्नुपर्ने हो, उनीहरू नै जनकारबाहीको निशानामा परेका छन् । कालोमोसो दल्ने कार्यलाई एक सामान्य आपराधिक दृष्टिकोणमा मात्र नहेरी, यो ‘प्रतिकारको चेतावनी’ का रूपमा समेत जनताले बुझिरहेका छन् ।
नेपाली राजनीतिक इतिहासमा ‘जनकारबाही’ शब्द त्यति नौलो होइन । तर पछिल्लो समय कम्युनिस्ट युवा संगठन नेपालले यसलाई पुनः सशक्त रूपमा अघि सारेको छ । जनताले विश्वास गुमाएका, जिम्मेवारीबाट विमुख भएका, र जनताको पीडा प्रति संवेदनशून्य बनेका नेता कर्मचारीहरूमाथि कालोमोसो दलेर उनीहरूलाई जवाफदेही बनाउने प्रयास भइरहेको छ ।
सत्ता संरक्षित व्यापक भ्रष्टाचार र ढिलासुस्तीकाविरुद्ध नेकपा बहुमत निरन्तर सडकदेखि सदनसम्म संघर्षरत रहेको सन्देश यो अभियानमार्फत झन् बलियो भएको देखिन्छ। संगठनले विगतमा गरेका चेतावनीहरूलाई ध्यान नदिँदा आज ‘जनकारबाही’को स्वरूप अगाडि आएको हो भन्ने तर्क उनीहरू राख्छन् ।
जनता बीच लोकप्रिय हुँदै गएको यो अभियानले गाउँदेखि शहरसम्म चर्चा पाएको छ । “यदि जनप्रतिनिधि जनताको सेवक होइन, मालिकझैं प्रस्तुत हुन्छ भने, उनीमाथि जनताको कारबाही हुनु स्वाभाविक हो“ भन्ने मतले सामाजिक सञ्जालदेखि सडकसम्म समर्थन पाइरहेको छ ।
जनप्रतिनिधिले चुनाव जितेपछि जनतालाई बेवास्ता गर्ने, सेवामा भ्रष्टाचार गर्ने, न्यायमा ढिलासुस्ती गर्ने, र जनतालाई हेप्ने प्रवृत्तिप्रति जनता लामो समयदेखि असन्तुष्ट छन् ।
कालोमोसो दलिएको दृश्य हेर्दा उनीहरू भन्छन् – “आज त्यही अनुहार जनताको सामु नाङ्गो भएको छ।” यो दृश्यमा जनताले एक किसिमको सन्तोष महसुस गर्छन् — कि उनीहरूले सत्ताको घेराभित्र पुग्न नसके पनि, कमसेकम प्रतिकारको आवाज उठाउन सके ।
कम्युनिस्ट युवा संगठनका अनुसार, उनीहरूले कुनै पनि कारबाही सतही आवेगमा होइन, अदालतमा प्रमाण पुगिसकेका, तर संरक्षण भैरहेका व्यक्तिविरुद्ध मात्रै कारबाही गरिरहेका छन् । अभियानका हरेक क्रियाकलापलाई संगठनले राजनीतिक चेतनामूलक कार्य मानेको छ ।
काठमाडौं, पोखरा, धरान, नेपालगञ्ज, कैलाली, कञ्चनपुर, बागलुङ, झापा जस्ता जिल्लाहरूमा क्रमशः जनकारबाहीका घटनाहरू बाहिरिरहेका छन् । यी सबै ठाउँमा जनताको साथसाथै, युवा पुस्ताको सक्रियता देखिएको छ । शिक्षित, बेरोजगार, उत्पीडित, र सचेत युवाहरू यो अभियानमा आकर्षित भइरहेका छन् ।
कम्युनिस्ट युवा संगठन नेपालका केन्द्रीय सचिव दिपेन्द्र ऐरी भन्छन् ‘कालोमोसो अभियान’ एक संकेत हो — कि देशमा जनताको आवाज सुन्ने संयन्त्र फेल भएको छ । जब शासन, न्याय र सेवा प्रणाली निष्क्रिय देखिन्छन्, त्यतिबेला जनता आफ्नै स्वर निकाल्न विवश हुन्छन् ।
कम्युनिस्ट युवा संगठन नेपालको यो अभियानलाई नेकपा बहुमतको नीति, दर्शन र प्रतिरोधी यात्राको भाग मान्न सकिन्छ, जसले नेपाली समाजमा न्याय, समानता र जवाफदेहिताको संस्कार स्थापित गर्न खोजिरहेको छ ।
Discussion about this post