कञ्चनपुर – डोटेली भाषामा आफ्ना हास्यव्यङ्ग्य शैलीले सामाजिक सञ्जालमा तहल्का मच्चाएका टिकटक स्टार ह्यारी कार्की पुनः एकपटक चर्चामा छन्। लोकप्रियता कमाइरहेका कार्की अभिनित ‘मेरा कञ्चनपुर’ बोलको नयाँ देउडा डिजे गीत शुक्रबार सार्वजनिक भएको छ।
कुलेन्द्र परियारको स्वर तथा लयमा सजिएको यस गीतमा शब्द भने कार्की स्वयंले लेखेका हुन्। ह्यारी कार्कीको युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा उनले दमदार अभिनय गरेका छन्। उनीसँगै मन्नु भट्ट र विनय चन्द पनि अभिनयमा देखिएका छन्।
गीतको निर्देशन तथा कोरियोग्राफी रमेश बिजुली बिसीले गरेका हुन् भने भिडियो सम्पादन शंकर साउँद र छायांकन दया चौधरीले गरेका छन्। रमणीय दृश्यसहित महेन्द्रनगर, टिकापुर पार्क, कर्णाली चिसापानी लगायतका स्थानमा छायाङ्कन गरिएको भिडियो जुम प्रोडक्सनको प्रस्तुतिमा तयार गरिएको हो।
सानैदेखि हसिला, सरल र सबैसँग घुलमिल हुने स्वभावका कार्की आज सामाजिक सञ्जालमा कमेडियनको पर्यायवाची नाम बनेका छन्। सशस्त्र प्रहरीमा कार्यरत उनी, ड्युटीपछि हास्य सिर्जनामा लागेर दर्शकलाई मनोरञ्जन दिन्थे—आज उनी सुदूरपश्चिमका युवाहरूमाझ प्रिय अनुहार बनिसकेका छन्।
बैतडी भाषामा आधारित कमेडी भिडियो निर्माणमा सक्रिय रहेका कार्कीले पछिल्लो समय एकपछि अर्को देउडा गीतमा अभिनय गर्दै सांगीतिक क्षेत्रलाई पनि आफ्नै मौलिक स्वाद दिँदै आएका छन्। ‘मेरा कञ्चनपुर’ सार्वजनिक भएसँगै कार्कीको बहुपक्षीय प्रतिभा पुनः एकपटक चर्चामा आएको छ।
सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले ‘मेरा कञ्चनपुर’ गीतको भिडियोमा ह्यारी कार्कीको अभिनय, भाव, उत्साह र प्रस्तुतीलाई अत्यन्तै रुचाइरहेका छन्। सुदूरपश्चिमेली संस्कृतिको प्रवद्र्धकका रूपमा उनले बनाएको छवि अझ मजबुत हुँदै गएको छ।
भिडियो
Discussion about this post