बेलडाँडी । वर्षौँदेखि नियमित रूपमा विद्युत समस्याबाट ग्रस्त कञ्चनपुरको दक्षिणी क्षेत्र अहिले पनि उस्तै समस्याबाट गुज्रिरहेको छ। सानो पानी परेको भरमा घण्टौँसम्म बत्ती जानु, हल्का हावा चले पनि आपूर्ति अवरुद्ध हुनु, र स-साना प्राविधिक समस्यालाई बहाना बनाउँदै विद्युत कार्यालयले सेवा प्रवाहमा देखाएको बेवास्ता अब असह्य बन्न थालेको छ।
कञ्चनपुरको दक्षिण बेलडाँडी, बेलाैरी, लालझाडी र पुनर्वासका बासिन्दा दिनहुँजसो विद्युत आपूर्ति अवरुद्ध हुने समस्यामा बाँचिरहेका छन्। स्थानीयवासीहरू आक्रोशित छन्। “कुकुरले पोलमा पिसाब गरे पनि बत्ती जान्छ” भन्ने व्यंग्यमा लुकेको व्यथा झनै मार्मिक छ।
कतिपय नेतालाई विकासप्रेमी भनियो, कतिपयलाई “छोरी यही जन्मिएकी” भन्दै मन्त्री बनाइयो। तर विद्युत समस्याले भने कहिल्यै सम्बोधन पाउने मौका पाएको छैन। जनताले बुझ्ने र भोग्ने समस्या कहिल्यै नीति निर्माणमा पर्न सकेन।
बारम्बारको विद्युत कटौती र लापरवाहीको कारणै यहाँका नेताहरूले विद्युत कार्यालयका कर्मचारीमाथि केही बर्ष पहिला अपशब्द समेत बोले। तर पीडाको आवाज अझै बेवास्तामै छ।
बेलौरी वितरण केन्द्रले कलुवापुरदेखि बेलौरीसम्मको ३३ केभी लाइनमा फल्ट भएको दाबी गर्दै आएको छ। कार्यालयले अहिले बिहान सामाजिक सञ्जालमार्फत “प्राविधिक टोली पठाउने तयारीमा छौं” भन्ने सामान्य सूचना मात्रै दिएको छ। तर तीन दिनसम्म समेत समस्या समाधान नभएकोमा जनता आश्चर्यचकित छन्।
समस्याबारे जानकारी लिन खोज्दा बेलौरी वितरण केन्द्रका प्रमुखसँग फोन सम्पर्क हुन सकेन। जिम्मेवारी बोकेका व्यक्तिहरू जनतालाई जवाफ दिन नसक्ने अवस्थामा हुँदा लापरवाही झनै गहिरिएको अनुभूति हुन थालेको छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा विद्युत सेवा केवल सुविधाको विषय होइन, जीवनस्तरको आधारभूत खम्बा बनिसकेको अवस्थामा यसको लगातार उपेक्षा सरकारी बेवास्ताको प्रमाण हो। अब जनताको धैर्यको बाँध चुँडिन थालेको छ। आखिर कहिलेसम्म अन्धकारमै बाँच्छ कञ्चनपुरको दक्षिणी क्षेत्र?
Discussion about this post