डडेल्धुरा, अमरगढी । अमरगढी नगरपालिकामा कार्यरत दुई कर्मचारीबीच कार्यस्थलमा भनिएको विवाद निराधार भएको स्पष्ट पारेका छन् । पछिल्ला दिनमा सामाजिक सञ्जाल र केही मिडिया रिपोर्टमार्फत योजना अधिकृत टंकप्रसाद पन्त र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायबीच विवाद भएको भन्दै सार्वजनिक गरिएका खबरलाई दुबै पक्षले अस्वीकार गरेका छन् ।
पश्चिम समाचार डटकमसँगको छुट्टाछुट्टै कुराकानीमा दुवैले कुनै विवाद नभएको दाबी गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने, “कसै–कसै मिडिया साथीलाई आनन्द लिने मन लागेको होला, कसैको बेज्जत गरेर मजा लिनको लागि त्यस्तो लेखिएको हो । हाम्रोबीच कुनै झगडा छैन, कुनै विवाद छैन् ।”
त्यस्तै योजना अधिकृत टंकप्रसाद पन्तले पनि यस्ता आरोप आफैंले नगरेको भन्दै अफवाहमा ध्यान नदिन अनुरोध गरे । “मैले कुनै पनि सञ्चारमाध्यममा त्यस्तो भनाइ दिएको छैन । यसरी नसोधी समाचार बनाउनु उपयुक्त होइन,” उनले भने ।
सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा उपाध्यायले पन्तलाई प्रहरीमार्फत नियन्त्रणमा लिएको तथा पन्तले उपाध्यायमाथि व्यक्तिगत आरोप लगाएको जस्ता विवरणहरू आएपछि स्थिति केही तनावपूर्ण बन्दै गएको थियो । तर, ती सबै दावीहरू दुबै पक्षले स्पष्ट रूपमा अस्वीकार गरेका छन् ।
उनीहरुले अमरगढी नगरपालिकामा सामान्य प्रशासनिक प्रक्रिया अनुसार कामकाज चलिरहेको र बाहिर देखिएको जस्तो कुनै विवाद वा अविश्वासको अवस्था नरहेको प्रस्ट पारेका छन् ।
Discussion about this post