नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारतको चण्डीगढ़मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न

 चण्डीगढ़ नेपाली जनसम्पर्क समिति, पश्चिमोत्तर भारत क्षेत्रीय समितिको आयोजनामा चण्डीगढ़स्थित गढवाल भवन, सेक्टर–२९ मा एक दिवसीय प्रशिक्षण तथा संयुक्त बैठक भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता क्षेत्रीय अध्यक्ष श्री राजु चन्द ठकुरीले गर्नुभयो भने सञ्चालन महासचिव श्री ढाकाराम पौडेलले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेजस भारतका केन्द्रीय अध्यक्ष आदरणीय श्री बालकृष्ण पाण्डे हुनुहुन्थ्यो। उहाँको साथमा केन्द्रीय पदाधिकारी, क्षेत्रीय नेतृत्व, शाखा तथा महिला समितिका अध्यक्ष, सचिव र प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख अतिथि श्री पाण्डेले महामानव वी.पी. कोइरालाको तस्वीरमा माल्यार्पण गर्दै दीप प्रज्वलनमार्फत कार्यक्रमको उद्घाटन गर्नुभयो। उहाँले प्रशिक्षण सत्रमा कांग्रेसको क्रियाशील सदस्यता, नविकरण प्रक्रिया तथा नयाँ फारामहरू क्षेत्रीय समितिलाई हस्तान्तरण गर्नुका साथै समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा संगठनात्मक पक्षमा उपयोगी प्रशिक्षण दिनुभयो।

बैठकमा वी.पी. कोइरालाको स्मृति दिवस र जन्मजयन्ती, तीजको भव्य कार्यक्रम, समिति स्थापनाको स्वर्णजयन्ती समारोह लगायत संगठनको एकता, पारदर्शिता र मेलमिलापका विषयमा गहन छलफल गरिएको थियो।

यसै क्रममा श्री पाण्डेले पश्चिमोत्तर भारतका २२ वटा शाखाहरूमा जनजागरण र संगठन सुदृढीकरणका लागि केन्द्रीय प्रतिनिधिमण्डल गठनको घोषणा पनि गर्नुभयो। उक्त प्रतिनिधिमण्डलमा एक केन्द्रीय प्रतिनिधि, दुई क्षेत्रीय प्रतिनिधि तथा एक महिला प्रतिनिधिको समावेश हुने जनाइएको छ।

कार्यक्रमको समापनमा चण्डीगढ़ क्षेत्रीय समितिका कार्यकर्ताहरूले संगठनप्रति दृढ प्रतिबद्धता व्यक्त गर्दै, वी.पी. कोइरालाको आदर्शलाई जीवन्त राख्ने संकल्प गरेका थिए।

– जीवलाल भट्टराई, सह–महामन्त्री, नेजस भारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित