बेलडाँडी । बेलडाँडी गाउँपालिका–२ को क्याम्प टोलस्थित उखुबारीमा मंगलबार बिहान देखिएको चितुवाले स्थानीयवासीलाई त्रासमा पारेको छ । हिजो बिहान करिब ७ बजे पूर्वी क्याम्प टोलबाट हुलाकी सडक पार गर्दै चितुवा गोपाल अधिकारीको उखुबारीमा पसेको प्रत्यक्षदर्शीहरूले बताएपछि बस्तीमा एकाएक त्रास फैलिएको हो ।
चितुवा नियन्त्रणमा लिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले मंगलबार साँझ ५ बजे बाख्रा राखिएको पिजडा (खोर) उखुबारीमा जडान गरेको थियो । तर रातभर चितुवा पिजडामा नपरेपछि आज बिहान तीनवटा हात्ती परिचालन गरी खोजी कार्य अघि बढाएपनि चितुवा देखा नपरेपछि स्थानीयहरु झन त्रसित बनेका छन् ।
निकुञ्जको टोली, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहकार्यमा पिजडा जडान गरिए पनि चितुवा फेला नपरेपछि पिजडा हटाइएको छ । बिहान गरिएको सर्च अपरेसनमा चितुवा कतै नदेखिएको निकुञ्ज स्रोतको भनाइ छ ।
चितुवा हाल गाउँमै लुकेको छ या जंगलतिर फर्कियो भन्ने एकीन नभएपछि पालिका अध्यक्ष हरिशचन्द्र राना र वडा नं. २ का अध्यक्ष नारद सिंह उर्यालले स्थानीयलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन् । साथै, जोखिम न्यूनीकरणका लागि सडक क्षेत्रमा गस्तीको व्यवस्था गरिएको छ ।
तर, चितुवा नियन्त्रण अभियानप्रति स्थानीयवासी सन्तुष्ट देखिएका छैनन् । ‘हिजो दिउसो एक मात्र हात्ती ल्याएर जंगलतिर चितुवा धपाउने अवसर गुमाइयो,’ स्थानीयले गुनासो गर्दै भने, ‘हिजो बेलुकै थप दुई हात्ती आइपुगे पनि खोजीमा ढिलासुस्ती गरियो ।’ उनीहरूको आरोप छ, “निकुञ्जले चितुवाको खोजीमा खासै गम्भीरता देखाएको छैन, भोलि केही भए जिम्मेवारी कसले लिने ?”
निकुञ्ज कार्यालय भने आफ्नो तर्फबाट सम्भव सबै प्रयास भएको दाबी गर्छ । “चितुवाको अवस्थिति र जोखिम मूल्याङ्कन गरेपछि पिजडा जडान गरिएको हो,” टोलीका एक सदस्यले बताए, “हात्ती पुनः उक्त ऐरियामा रहेको उखुमा पठाउने विषयमा उखु किसानबाट अनुमति नभएपछि आफुहरु फर्केको बताएका थिए ।”
यता, स्थानीयवासीले जंगली जनावरको बढ्दो आतंकबाट मुक्ति पाउन दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।बेलडाँडीमा पछिल्ला केहि बर्षहरुबाट चितुवा र अन्य जंगली जनावर देखिन थालेपछि गाउँलेहरू त्रसित छन् । राज्यको चासो नपुगेमा ज्यानमाथि खतरा हुने चिन्ता उनीहरूको छ ।
























Discussion about this post