बेलडाँडी । बेलडाँडीका किसानका नाममा इन्ट्री गरी कैलालीको भजनीतर्फ लैजाँदै गरिएको ५५ बोरा मल स्थानीयको सतर्कतामा नियन्त्रणमा परेको छ । हिजो राति वडा नं. ५ को इमलिया नजिक स्थानीयले शंका लागेपछि दिएको सूचनामा प्रहरी पुगेको थियो । तत्कालै मल बोकेको ट्रली रोक्दै इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको हो ।
स्थानीय किसानहरू लामो समयदेखि आफ्नै क्षेत्रमा मलको अभाव झेलिरहेका बेला, बेलडाँडीका किसानको नाममा छुट्याइएको कोटा बाहिर लैजान लागेको खुलासा भएपछि स्थानीय आक्रोशित बनेका छन् । श्रोतका अनुसार कामना बचत सहकारीबाट ३० बोरा र बागेश्वरी सहकारीबाट २५ बोरा गरी जम्मा ५५ बोरा मल बाहिर पठाइएको थियो ।
कामना सहकारीका सचिव मान बहादुर खडकाले घटना आफू अनभिज्ञ रहेको दाबी गरे भने बागेश्वरी सहकारीकी अध्यक्ष दुर्गा रोकायाले “एक किसान बराबर पाँच बोरा” हिसाबले मल लाग्ने भएकाले वितरण भएको बताए । उनले आफूले पछि मात्र जानकारी भएको र जिम्मेवार व्यक्तिको लापरबाहीले यस्तो स्थिति आएको टिप्पणी गरिन् ।
स्थानीयका अनुसार बेलडाँडीमा कृत्रिम अभाव सिर्जना गरी बाहिर मल पठाउने घटना पटक–पटक दोहोरँदै आएको छ । “हामी किसान दिनदिनै खेतमा मलको अभावमा छट्पटाइरहेका छौं, तर कोटाको मल बाहिर निस्किँदा हामीले प्रहरीलाई खबर गर्न बाध्य भयौं,” किसानले भने ।
मल वितरणसम्बन्धी नियमअनुसार कोटाको मल तोकिएकै क्षेत्रका किसानलाई मात्र वितरण गर्न पाइन्छ । तर बेलडाँडीमा अनुगमन र अनुशासनहीनता बढेपछि स्थानीय उपभोक्ता बारम्बार मारमा परेको छ । पालिका प्रमुख प्रशासकीय अधिकृतसमेत रहने मल वितरण व्यवस्थापन समितिले “बाहिर पठाउन मिल्दैन” भन्दै औपचारिक रूपमा असन्तुष्टि जनाएका छन् ।
यता, दुई वर्षअघि साना किसान महिला सहकारीका बाट बेलडाँडीकै किसानले २–३ बोरा मल अर्को किसानलाई दिएको आरोपमा कठोर कारबाही अघि बढाएको समितिको नेतृत्व अहिले भने ५५ बोरा मल बाहिर लैजाने ठूलो प्रकरणमा मौन बसिरहेको स्थानीयको आरोप छ । समितिका संयोजक शान्ति नाथलाई पत्रकारहरूले चार पटकसमेत फोन गरेको तर सम्पर्क हुनसकेको छैन् ।
अघिल्लो मामिलामा २ बोरा मल ‘बाहिर गयो’ भन्दै सहकारीलाई वितरण अधिकारबाटै वञ्चित गरिएकोमा अहिले ५५ बोरा मलसहित समातिएका सहकारीहरूलाई के कारबाही हुन्छ भन्ने विषय चर्चाको केन्द्र बनेको छ ।
स्थानीयहरू “अव समितिले कस्तो कदम चाल्छ” भन्ने प्रश्नसहित समितिको कदम पर्खिरहेका छन् ।
बेलडाँडीमा मल अभाव बढिरहेको संवेदनशील समयमा ५५ बोरा मल बाहिर जान लाग्दा रोकिएको यस घटनाले स्थानीय शासन, सहकारी र अनुगमन संयन्त्रप्रति गम्भीर प्रश्न उठाएको छ । छानबिन पारदर्शी नहुने हो भने किसानको कष्ट अझै बढ्ने चिन्ता समेत व्यक्त गरिएको छ । यस विषयमा समिति भन्दा पनि नागरिक स्तरबाट छानविन समिति बन्नु पर्ने स्थानीयको माग छ । यो घटनालाई मिलाउन खोजे कडा आन्दोलनको चेतावनी स्थानीयले गर्दै आएका छन् ।























Discussion about this post