प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेनाद्वारा ८० हजार जनशक्ति परिचालनको तयारी

काठमाडौँ । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सेना एकीकृत सुरक्षा योजनाअनुसार परिचालन हुने भएको हो।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार पारिएको एकीकृत सुरक्षा योजना–२०८२ सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेको छ। सोही योजनाअनुसार निर्वाचनको एक महिना अघिदेखि नै फिल्डमा सेना परिचालन गरिने उनले जानकारी दिए।

उनले भने, “एकीकृत सुरक्षा योजनाले मार्गनिर्देशन गरेअनुसार निर्वाचनको एक महिना अगाडिदेखि सेना परिचालन हुनेछ।” सेनाको परिचालनसम्बन्धी निर्णय राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ।

निर्वाचनका क्रममा नेपाली सेनाले तीन चरणमा जिम्मेवारी निर्वाह गर्नेछ। निर्वाचनपूर्वको चरणमा मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वयमा गर्नेछ।

यसैगरी निर्वाचनको तयारीका क्रममा सेनाले चार वटै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायसँगको सहकार्यमा तल्लो तहसम्म एकीकृत तालिम तथा अभ्यास सञ्चालन गर्ने जनाएको छ। निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्न सहयोग पुर्‍याउने उद्देश्यले यस्तो तालिम र अभ्यास सञ्चालन गरिने सेनाले जनाएको छ।

मतदानको दिन नेपाली सेना तेस्रो घेरामा रही निर्वाचनस्थल र मतदान केन्द्रको सुरक्षा गर्नेछ। सो क्रममा राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति दिलाइने बताइएको छ। विगतका निर्वाचनझैँ यसपटक पनि देशका विभिन्न स्थानमा सुरक्षा वेश स्थापना गरिने तयारी छ।

मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी पनि नेपाली सेनाले सम्हाल्नेछ। निर्वाचनलाई लक्षित गर्दै हाल प्रदेशस्तरमा सुरक्षा गोष्ठीहरू सञ्चालन भइरहेका छन् भने ती गोष्ठीबाट प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन गरी सरकारले आवश्यक थप सुरक्षा प्रबन्ध मिलाउने जनाएको छ।

सबै सुरक्षा निकाय, स्थानीय प्रशासन र जनप्रतिनिधिबीचको समन्वय र सहकार्यमा निर्वाचन सुरक्षा राज्यको प्राथमिक जिम्मेवारी भएको उल्लेख गर्दै नेपाली सेनाले तोकिएको मितिमा निर्वाचन शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित