कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा यस वर्ष पनि परम्परागत माघ म्याला आयोजना हुने भएको छ। बेलौरी नगर भलमन्सा समितिको आयोजनामा ‘राष्ट्रिय एकता व विविधता हमार शान, थारु भाषा, संस्कृति बचैना हमर अभियान’ भन्ने मूल नाराका साथ पुस २६ देखि २९ गतेसम्म चारदिने बेलौरी माघ म्याला २०८२ सञ्चालन गरिने भएको हो।
थारु समुदायको कला, भाषा, लोकसंस्कृति तथा साहित्यको जगेर्ना, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिने मेलाले समुदायमा रहेका कुरीति हटाई एकजुट, शिक्षित र सचेत समाज निर्माणमा सहयोग पु¥याउने विश्वास आयोजकले व्यक्त गरेको छ।
मेला अवधिभर थारु समुदायको मौलिक झाँकी, कला र संस्कृतिको विशेष प्रदर्शन गरिनेछ। यसअन्तर्गत माघी, झुम्रा, मुग्रुह्वा, हुरहुग्वा नाचलगायत परम्परागत सांस्कृतिक प्रस्तुति, थारु समुदायको रहनसहन, भेषभूषा तथा मौलिक परिकारहरूको प्रदर्शनी रहनेछ। मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।
कार्यक्रमका मुख्य आकर्षणका रूपमा कलाकार तथा मोडेल राज कुश्मी, सोनु कुश्मी, मनिराम चौधरी, सुरक्षा चौधरी, लक्ष्मी राना, सुमु चौधरी, दिव्या चौधरी र विजय चौधरीलगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ।
मेलाको अवलोकनका लागि कुनै पनि प्रकारको प्रवेश शुल्क नलाग्ने आयोजकले जानकारी गराएको छ। साथै, मेलामा खाद्य, व्यापारिक, हस्तकला तथा विभिन्न व्यवसायिक स्टलहरू राख्न इच्छुक व्यक्ति, फर्म तथा संस्थाका लागि स्टल बुकिङ खुला गरिएको छ। स्टल संख्या सीमित रहेकाले इच्छुकहरूले समयमै सम्पर्क गरी बुकिङ गर्न अनुरोध गरिएको छ।
स्टल बुकिङ सम्पर्क नम्बर: ९८४८४२५९४६, ९८४०६७४३३८, ९८६८८८५३२५, ९८१२७२८८६०
आयोजकका अनुसार माघ म्यालाले थारु समुदायको पहिचान संरक्षणसँगै स्थानीय कला, संस्कृति र व्यवसाय प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।























Discussion about this post