६ दशकपछि जमिनको मालिक बने बेदकोट-८ का किसान, वडाध्यक्ष जोशीको सक्रियताले १३१ परिवारले पाए लालपुर्जा

धनसिंह धामी/कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका-८ मा दशकौँदेखि ऐलानी जमिन जोत्दै आएका भूमिहीन किसानहरू अन्ततः जमिनका कानुनी मालिक बनेका छन्। वडाध्यक्ष महेशराज जोशीको सक्रिय पहल र समन्वयमा करिब ६ दशकपछि १३१ किसान परिवारले लालपुर्जा प्राप्त गरेका हुन्।

वडा कार्यालयका अनुसार पहिलो चरणमा ७० जना र दोस्रो चरणमा थप ६१ जना गरी हालसम्म बेदकोट-८ का १३१ किसानलाई लालपुर्जा वितरण गरिएको छ। यसैक्रममा बेदकोट नगरपालिका-६ का ३१ किसानले पनि लालपुर्जा पाएका छन्।

स्व. राजा महेन्द्रको पालामा, वि.सं. २०२२ सालदेखि पहाडी तथा अन्य जिल्लाबाट साविक सुडा पञ्चायत हुँदै हालको बेदकोट नगरपालिका-८ क्षेत्रमा बसाइँ सरेर आएका स्थानीयहरू लामो समयसम्म लालपुर्जाबाट वञ्चित थिए। पुस्तौँदेखि जमिन उपभोग र संरक्षण गर्दै आए पनि कानुनी स्वामित्व नपाउँदा उनीहरू अन्योलमा थिए।

वडाध्यक्ष महेशराज जोशीले वडाबाट २१३ किसानका लागि लालपुर्जा सिफारिस गरिए पनि जिल्ला भूमि समस्या समाधान आयोगले हाल दुई चरणमा १३१ किसानलाई मात्र पुर्जा वितरण गरेको जानकारी दिए। “वर्षौँदेखि जमिन जोत्दै आएका किसानहरूले ढिलो भए पनि आफ्नो हक पाएका छन्,” उनले भने, “नागरिकलाई जमिनको मालिक बनाउनु हाम्रो दायित्व हो।”

बेदकोट नगरपालिका-६ का वडाध्यक्ष तुलसी रानाले यसअघि छुटेका किसानहरूले अहिले लालपुर्जा पाएको उल्लेख गर्दै बाँकी किसानलाई पनि क्रमशः वितरण गरिने बताए। उनले जनताको भावना अनुसार काम गर्नुपर्नेमा जोड दिए।

नगर प्रमुख भोजराज बोहराले बेदकोट–८ र ६ मा जस्तै अन्य वडाहरूमा पनि लालपुर्जा वितरण प्रक्रिया अघि बढाइने बताए। वडाध्यक्ष, पालिका र भूमि आयोगको संयुक्त प्रयासले यो सफलता सम्भव भएको उनको भनाइ छ।

उपप्रमुख तुलसी जोशीले नगरका सबै १० वडामा बाँकी रहेका लालपुर्जा सम्बन्धी काम छिट्टै सम्पन्न गरिने प्रतिबद्धता जनाइन्। “जनतालाई सम्पत्तिको हक दिलाउनु स्थानीय सरकारको कर्तव्य हो,” उनले भनिन्।

६ दशकपछि जमिनको मालिक बनेका स्थानीयहरू लालपुर्जा पाएपछि खुशी देखिएका छन्। स्थानीय रतनराम लुहारले बाजेको पालादेखि जोतेको जमिन अहिले नातीको पालामा आएर आफ्नै नाममा भएको भन्दै खुशी व्यक्त गरे। “६० वर्षसम्म जोत्यौँ, खायौँ, तर प्रमाण थिएन,” उनले भने, “आज कानुनी मालिक बनेर अत्यन्त खुसी छौँ।”

लालपुर्जा प्राप्त गरेकी सुनिता नाथले पनि वि.सं. २०२२ सालतिर ससुराले बसोबास गरेको जमिनको स्वामित्व २०८० सालमा आएर पाएको बताइन्। “अघिल्ला सरकार र आयोगले नसुनेको कुरा अहिलेका जनप्रतिनिधिले पूरा गरिदिए,” उनले भनिन्।

कार्यक्रमका प्रमुख अतिथि तथा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले बेदकोट–८ जस्तै देशभरका वडा र पालिकाहरू सक्रिय हुनुपर्ने बताए। कार्यक्रममा सरोकारवाला निकाय तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित