सुदूरपश्चिमका ६ जिल्ला सभापतिद्वारा विशेष महाधिवेशनको विरोध, विधानबमोजिम तय भएको १५औँ महाधिवेशनमै अघि बढ्न जोड

धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका पार्टी विधानअनुसार अघि बढिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका कांग्रेस सभापतिहरूले विशेष महाधिवेशनको माग असान्दर्भिक र औचित्यहीन भएको निष्कर्ष निकाल्दै संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन्।

बझाङ, डोटी, डडेल्धुरा, अछाम, कञ्चनपुर र कैलाली जिल्लाका कांग्रेस सभापतिहरूले हस्ताक्षर गरेको विज्ञप्तिमा केन्द्रीय कार्यसमितिले २०८२ मंसिर १५ गते सर्वसम्मत रूपमा १५औँ महाधिवेशनको कार्यतालिका तय गरिसकेको र सोही निर्णयअनुसार संगठनात्मक प्रक्रिया जिल्लादेखि केन्द्रसम्म अघि बढिरहेको स्पष्ट पारिएको छ।

विज्ञप्तिमा केन्द्रीय कार्यसम्पादन समितिको २०८२ पौष १८ गतेको बैठकले विशेष महाधिवेशनको माग स्वतः समाप्त भइसकेको ठहर गरिसकेको स्मरण गराउँदै, सो यथार्थलाई बेवास्ता गर्दै सञ्चार माध्यममार्फत विशेष महाधिवेशन आह्वान गरिनु पार्टी विधानविपरीत भएको ठहर गरिएको छ।

साथै, क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा प्रविष्टिको काम वडा, पालिका, प्रदेश सभा क्षेत्र हुँदै जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमार्फत अघि बढिरहेको र यही सदस्यता नै वडा अधिवेशनका मतदाता हुने भएकाले तय कार्यतालिकाबाट विचलित हुनु अनुचित हुने सभापतिहरूको ठम्याइ छ।

संयुक्त विज्ञप्तिमा पार्टी विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत पदाधिकारी वा सदस्यलाई नभई केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पार्दै, व्यक्तिगत रूपमा आह्वान गरिने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका नेता–कार्यकर्ता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई अपिल गरिएको छ।

त्यसैगरी, २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सबैलाई आह्वान गरिएको छ।

विशेष महाधिवेशनको बहस चलिरहेका बेला सुदूरपश्चिमका ६ जिल्ला सभापतिहरूको यो संयुक्त धारणा पार्टीभित्र विधान, प्रक्रिया र संस्थागत निर्णयको पक्षमा स्पष्ट सन्देशका रूपमा हेरिएको छ।

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने सभापतिहरू: खडक बहादुर बोहरा (बझाङ), नरेन्द्र बहादुर सिंह (डोटी), भिम साउँद (डडेल्धुरा), पुष्प बहादुर शाह (अछाम), पदम बोगटी (कञ्चनपुर) र नारायण दत्त भट्ट (कैलाली)।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित