काठमाडौँ : प्रतिनिधि सभा निर्वाचन सुरक्षामा खटाइने निर्वाचन प्रहरी (म्यादी प्रहरी)का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ। पुस २५ गतेदेखि देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत इच्छुक उम्मेदवारले आवेदन दिन थालेका छन्।
नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले दुई दिनको अवधिमा २७ हजारभन्दा बढी आवेदन सङ्कलन भइसकेको जानकारी दिएका छन्। दरखास्त आह्वान गरिएको दोस्रो दिन शनिबार मात्र १७ हजार जनाले आवेदन दिएका थिए।
नेपाल प्रहरीले यसपटकको निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरेको छ। निर्वाचन प्रहरीको भर्ना तथा परिचालनका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरिसकेको छ।
म्यादी प्रहरीमा भर्ना हुन माघ १ गतेसम्म दरखास्त दिन सकिने नेपाल प्रहरीले जनाएको छ।
यसपटक सशस्त्र प्रहरी बल नेपालले पनि निर्वाचन प्रहरीको कोटा पाएको छ। सशस्त्र प्रहरीले जिल्ला सुरक्षा समितिमार्फत आवेदन सङ्कलन गरी १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्ने जनाएको छ।























Discussion about this post