कांग्रेस टिकट वितरणको अन्तिम चरणमा गगन नेतृत्व, सर्वोच्चमा देउवा पक्षको रिट

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको मिति नजिकिँदै गर्दा गगन थापा नेतृत्वको नेपाली कांग्रेस उम्मेदवार चयनको अन्तिम चरणमा पुगेको छ। विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि थापा नेतृत्वको टिम चुनावी तयारीमा सक्रिय देखिएको हो।

शेरबहादुर देउवा पक्षले उक्त वैधानिकताविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको अवस्थामा समेत थापा नेतृत्वले टिकट वितरण प्रक्रिया अघि बढाएको स्रोतहरूको भनाइ छ। जिल्लाबाट प्राप्त सिफारिसका आधारमा उम्मेदवार टुङ्ग्याउन गोप्य स्थलमा घनिभूत छलफल भइरहेको एक नेताले जानकारी दिए।

थापा निकट स्रोतका अनुसार हात्तिसारस्थित एक होटेलमा केन्द्रीय नेताहरूबीच छलफल भइरहेको छ। स्रोतले भन्यो, “टिकट वितरणको एक चरण टुङ्गिसकेको छ, अब केही विवादित क्षेत्रको निर्णय मात्र बाँकी छ।”
जिल्लाबाट आएका सिफारिसलाई नै मुख्य आधार बनाएर निर्णय गर्ने तयारी थापाको रहेको बताइन्छ।

स्रोतका अनुसार देउवा पक्षका नेताहरू पनि सम्पर्कमा आइरहेका छन् र उनीहरूलाई समेत न्यायोचित ढङ्गले टिकट वितरण गर्ने प्रयास भइरहेको छ।

देउवा पक्षलाई समेट्ने प्रयास : पौडेल

महामन्त्री प्रदीप पौडेलले उम्मेदवार छनोटमा कुनै पूर्वाग्रह नराखिने स्पष्ट पारेका छन्। रातोपाटीसँग कुरा गर्दै उनले भने,
“हामी सबै पक्षसँग संवाद गरेर, सबैलाई समेट्ने गरी छलफल गरिरहेका छौँ। जसको सिफारिस स्वाभाविक छ र जित्ने सम्भावना बलियो छ, उसैले टिकट पाउँछ।”

उनका अनुसार देउवा पक्षका नेताहरूसँग व्यक्तिगत रूपमा (‘वान टु वान’) सम्पर्क गरी प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ। “उहाँहरू टिकट लिन आउनुहुन्छ कि हुँदैनन्, त्यो दोस्रो कुरा हो, तर हाम्रो तर्फबाट समेट्ने हरसम्भव प्रयास भइरहेको छ,” पौडेलले बताए ।

सर्वोच्चको रिटमा शेखरको हस्ताक्षर
यसैबीच, डा. शेखर कोइराला गगन थापा समूहसँग नजिकिएको भन्ने चर्चाबीच उनको सचिवालयले उक्त हल्ला असत्य भएको जनाएको छ। डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले देउवा पक्षबाट सर्वोच्च अदालतमा दायर रिटमा कोइरालाले हस्ताक्षर गरिसकेको पुष्टि गरे।

“डाक्टर साबले रिटमा हस्ताक्षर गरिसक्नुभएको छ। त्यसैले उहाँ गगनजीहरूको पक्षमा मिल्नुभयो भन्ने हल्ला सत्य होइन,” थपलियाले रातोपाटीसँग भने।
यद्यपि, थापा निकट स्रोतले भने शेखर कोइरालाको भूमिकाबारे फरक धारणा व्यक्त गरेको छ। स्रोतका अनुसार पछिल्लो समय पार्टी निर्णय प्रक्रियामा कोइरालाको प्रभाव कमजोर बन्दै गएको छ।

देउवा पक्ष : छलफलपछि निर्णय
देउवा समूहका प्रवक्ता डा. प्रकाशशरण महतले आधिकारिकताको विषयमा छलफलपछि मात्रै धारणा बनाइने बताएका छन्।
“अहिले केही टुङ्गो लागेको छैन। हामी बसेर छलफल गर्छौँ र अदालतको आदेशका आधारमा अघि बढ्छौँ,” महतले भने।

देउवा पक्षले गगन थापाको आधिकारिकताविरुद्ध दायर गरेको रिट आजै सर्वोच्च अदालतमा दर्ता भएको छ भने त्यसको पेसी माघ ६ गतेका लागि तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित