कञ्चनपुर । नेकपा एमालेले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारका रूपमा चयन गरेकी कमला बोहराको टिकट आकस्मिक रूपमा खोसेपछि सुदूरपश्चिम प्रदेशमा पार्टीभित्र तीव्र असन्तुष्टि र तरङ्ग फैलिएको छ ।
सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये एमालेबाट उम्मेदवार बन्ने एक्ली महिला नेतृको टिकट खोसिनुलाई पार्टीभित्र महिला नेतृत्वमाथिको अपमान र समावेशी प्रतिनिधित्वविरुद्धको कदमका रूपमा हेरिएको छ ।
एमालेले हिजो मात्रै बोहरालाई उम्मेदवार बनाउने निर्णय गरे पनि आज उनको स्थानमा अर्का उम्मेदवारलाई टिकट दिने तयारी गरेको स्रोतको दाबी छ । एकै दिनमा भएको यो नाटकीय निर्णयले पार्टीको निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीकी एक महिला सदस्यले बोहराको टिकट खोसिनु महिला अधिकार, लैङ्गिक समानता र समावेशी राजनीतिविरुद्धको कदम भएको बताइन् ।
“महिला मतदाता पुरुषभन्दा बढी छन्, तर पार्टीले बनाएको एउटी महिला उम्मेदवारको समेत टिकट खोसिनु अत्यन्तै दुर्भाग्यपूर्ण हो,” उनले भनिन्, “महिलालाई अवसर नदिने, दिएको अवसर पनि खोस्ने प्रवृत्ति स्वीकार्य हुँदैन ।”
उनले पार्टी नेतृत्वलाई निर्णय तत्काल पुनर्विचार गर्न आग्रह गर्दै बोहराको स्थानमा अर्का उम्मेदवार ल्याउनु राजनीतिक रूपमा गलत सन्देश जाने बताइन् ।
“पार्टीले वर्षौँदेखि महिला सहभागिता र नेतृत्व विकासको कुरा गर्दै आएको छ, तर व्यवहारमा त्यसको ठीक उल्टो देखिनु गम्भीर चिन्ताको विषय हो,” उनको भनाइ छ ।
कमला बोहरा एमालेको ११औँ महाधिवेशनबाट ४० वर्षमुनिको युवाकोटाबाट लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी नेतृ हुन् । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएकी बोहराले संगठन निर्माण, आन्दोलन र पार्टी विस्तारमा महत्वपूर्ण योगदान दिएको एमाले नेताहरू नै स्वीकार गर्छन् ।
पार्टीले सार्वजनिक रूपमा समावेशीता, लैङ्गिक समानता र महिला नेतृत्वलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै आए पनि व्यवहारमा देखिएको यो घटनाले ती प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएको छ । टिकट खोसिने निर्णयले आगामी निर्वाचनमा एमालेको छवि र महिला मतदातामाझ पर्ने प्रभावबारे समेत पार्टीभित्रै बहस सुरु भएको छ ।
टिकट खोसिएको विषयमा एमाले नेतृत्वको औपचारिक धारणा भने अझै सार्वजनिक भइसकेको छैन । तर, एक्ली महिला उम्मेदवारको टिकट खोसिने निर्णयले सुदूरपश्चिममा एमालेभित्र असन्तुष्टिको आगो बल्झिँदै गएको संकेत देखिएको छ ।























Discussion about this post