डिल्लीराज पन्त/कञ्चनपुर । कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ विजय हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ।
जिल्लाका तीनै क्षेत्रमा १९ राजनीतिक दल तथा १२ स्वतन्त्र उम्मेदवारसहित ५२ जनालाई पछि पार्दै रास्वपाका उम्मेदवार जनक सिंह धामी, दीपकराज बोहरा र ज्ञानेन्द्र सिंह महता प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको समानुपातिक मतपरिणामअनुसार कञ्चनपुरमा सबैभन्दा बढी मत प्राप्त गर्दै रास्वपा पहिलो दल बनेको हो। २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र रास्वपाले स्थान प्राप्त गरेका थिए। त्यतिबेला चौथो स्थानमा रहेको रास्वपा यसपटक पहिलो स्थानमा उक्लिएको छ।
मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिंह भण्डारीका अनुसार तीनै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको २४ घण्टाभित्रै समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गरिएको हो।
समानुपातिकतर्फ रास्वपाले ८७ हजार ९४५ मत प्राप्त गरेको छ, जुन कुल सदर मतको ५९.३१ प्रतिशत हो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नं. १, २ र ३ मा रास्वपाले क्रमशः २५ हजार ९२२, ३३ हजार ३७५ र २८ हजार ६४८ मत प्राप्त गरेको छ।
त्यसैगरी नेपाली कांग्रेसले क्रमशः ७ हजार २०८, १० हजार ११२ र ८ हजार ६७६ गरी २६ हजार ३९६ मत, नेकपा एमालेले ७ हजार ४३४, ६ हजार ७८५ र ६ हजार ५४६ गरी २० हजार ७६५ मत प्राप्त गरेको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ९ हजार ६२७, ५ हजार ६९८ र ३ हजार ४१० गरी १८ हजार ७३५ मत ल्याएको छ।
राप्रपाले क्रमशः २ हजार ८३७, ३ हजार ६५४ र ५ हजार ९०१ गरी १२ हजार ३९२ मत प्राप्त गरेको छ।
त्यसैगरी नेकपा (विप्लव) ले ३११, राष्ट्रिय जनमोर्चाले ५४५, श्रम संस्कृति पार्टीले १ हजार ४४५ मत प्राप्त गरेका छन्।
अन्य दलहरूमध्ये नेकपा संयुक्तले ९३, जनमत पार्टीले १६५, संयुक्त नागरिक पार्टीले ९३, मनाउपा नेपालले ६८२, प्रलोपा (प्रगतिशील लोकतान्त्रिक पार्टी) ले ३०, नेमकिपाले २२९, मंगोल नेशनल अर्गनाइजेशनले ३६ र मितेरी पार्टीले ८ मत प्राप्त गरेका छन्।
अस्थायी मतदाता सहित कञ्चनपुरमा ३ लाख १७ हजार ६२३ मतदाता रहेका थिए। तीमध्ये १ लाख ८५ हजार ६३० मत खसेको थियो। जसमध्ये १ लाख ७४ हजार ३०३ मत सदर र ११ हजार ३२७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
कञ्चनपुरका नागरिक समाजका अगुवाहरू तथा राजनीतिक विश्लेषकहरूले धरातल कमजोर भएका साना दलहरूले छुट्टाछुट्टै पार्टी खोल्नु भन्दा विचार मिल्ने दलहरूसँग एकता वा मर्जर गर्नुपर्ने सुझाव दिएका छन्।






















Discussion about this post