कञ्चनपुर। कञ्चनपुरका तीनै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गरेको छ। परिवर्तनको पक्षमा उभिएका कञ्चनपुरका मतदाताले रास्वपालाई भारी मतान्तरसहित विजयी गराउँदै जिल्लाका तीनै सिटमा नयाँ राजनीतिक शक्तिलाई स्थापित गरेका छन्।
पछिल्लो तीन दशकदेखि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले जित्दै आएका तीनै क्षेत्रमा यसपटक भने रास्वपाले एकछत्र कब्जा जमाएको हो।
पञ्चायतकालमा कञ्चनपुरबाट पूर्व पञ्च-राजावादी नेता लबरु राना, पदम ठगुराठी र इन्द्रबहादुर केसी निर्वाचित भएका थिए। २०४६ सालमा बहुदल आएपछि कांग्रेस, एमाले तथा जनयुद्धपछि माओवादी केन्द्रले यहाँको राजनीति नियन्त्रण गर्दै आएका थिए। २०७४ र २०७९ को निर्वाचनमा पनि कांग्रेस, एमाले र माओवादीबीच गठबन्धन हुँदा उनीहरूबीचै सिट बाँडफाँट हुँदै आएको थियो।
तर २०८२ सालको निर्वाचनमा भने जेन-जी आन्दोलनपछि देखिएको परिवर्तनको लहरसँगै रास्वपाले कञ्चनपुरका तीनै सिट जित्दै नयाँ राजनीतिक अध्याय सुरु गरेको छ।
क्षेत्र नं. १ मा जनक सिंह धामीको फराकिलो जीत
कञ्चनपुर क्षेत्र नं. १ बाट रास्वपाका जनक सिंह धामी १३ हजार २२२ मतान्तरले निर्वाचित भएका छन्। उनले २४ हजार ३३२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा उम्मेदवार बिना मगरले ११ हजार ११० मत ल्याइन्।
नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले ८ हजार ४६०, एमालेका तारालामा तामाङले ८ हजार ८८ तथा विप्लव नेतृत्वको नेकपाका पुरन रानाथारुले २४८ मत प्राप्त गरेका थिए।
पहिलो पटक चुनावी मैदानमा उत्रिएका धामीले यसअघि सांसद भइसकेका बिना मगर, तारालामा तामाङसहित १८ जना उम्मेदवारलाई पछि पार्दै प्रभावशाली जीत निकालेका हुन्।
यस क्षेत्रमा १ लाख १ हजार ७२४ मतदाता मध्ये ६० हजार ७८५ मत खसेको थियो। जसमध्ये ५७ हजार ५१ मत सदर र ३ हजार ७३४ मत बदर भएका थिए।
क्षेत्र नं. २ मा दीपकराज बोहराको भारी मतान्तर
कञ्चनपुर क्षेत्र नं. २ मा रास्वपाका युवा नेता दीपकराज बोहरा २३ हजार १२५ मतान्तरले विजयी भएका छन्। उनले ३३ हजार ९५२ मत प्राप्त गर्दा सातौं पटक चुनाव लडेका तथा पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका एनपी साउदले १० हजार ८२८ मत ल्याए।
एमालेका बचनबहादुर सिंहले ६ हजार ४१८, नेकपाका माधवप्रसाद पन्तले ६ हजार ३३७ तथा राप्रपाका तीर्थराज चटौतले १ हजार ९९३ मत प्राप्त गरेका थिए। ३० वडा रहेको यस क्षेत्रमा १ लाख ९ हजार ५७४ मतदाता रहेका थिए।
क्षेत्र नं. ३ मा ज्ञानेन्द्र सिंह महताको सहज जीत
कञ्चनपुर क्षेत्र नं. ३ बाट रास्वपाका ज्ञानेन्द्र सिंह महता २७ हजार ११८ मतसहित निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिप्रसाद बोहरालाई झण्डै तेब्बर मतान्तरले पराजित गरे।
बोहराले ९ हजार ४४३ मत ल्याएका छन् भने एमालेका डा. दीपकप्रकाश भट्टले ७ हजार ५७५, नेकपाका मानबहादुर सुनारले ४ हजार २८४ तथा राप्रपाका पूर्णबहादुर चन्दले ३ हजार ९०२ मत प्राप्त गरेका थिए।
यस क्षेत्रमा १ लाख ३ हजार ८७ मतदाता मध्ये ५८ हजार २०९ मत खसेको थियो। जसमध्ये ५३ हजार ५४६ मत सदर र ४ हजार ६६३ मत बदर भएका थिए।
पत्रकारिता पृष्ठभूमिबाट संसदसम्म
कञ्चनपुरबाट विजयी भएका रास्वपाका तीनै सांसद, जनक सिंह धामी, दीपकराज बोहरा र ज्ञानेन्द्र सिंह महता, पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। उनीहरूले पहिलो पटक चुनाव लडेर नै संसद यात्रा तय गर्न सफल भएका छन्।
निर्वाचन जितेपछि तीनै सांसद अहिले आफ्ना निर्वाचन क्षेत्रमा पुगेर मतदातालाई भेट्दै धन्यवाद तथा आभार प्रकट गरिरहेका छन्।
स्थानीय नागरिकले उनीहरूलाई विगतका सांसदजस्तो व्यवहार नगरी जनताको सेवक बनेर काम गर्न, विकास निर्माणलाई प्राथमिकता दिन तथा जनताको विश्वासलाई जोगाउन सुझाव दिएका छन्।





















Discussion about this post