कक्षा-८ मा बैवाहका गोरख बहादुर बने पालिका उत्कृष्ट, विद्यालयको गौरव

बेलडाँडी । शिक्षकहरूको अथक मेहनत र विद्यार्थीहरूको निरन्तर लगनशीलताले बेलडाँडी गाउँपालिकाको शैक्षिक अवस्था यस वर्ष गत वर्षको भन्दा सुधारिएको छ। गाउँपालिका स्तरिय आधारभूत तह (कक्षा-८) उत्तीर्ण परीक्षामा यस वर्ष समग्र नतिजा झण्डै दोब्बरले वृद्धि भएको छ भने उत्कृष्ट नतिजा हासिल गर्दै विद्यार्थीहरूले नयाँ कीर्तिमान कायम गरेका छन्।

यसैक्रममा सरस्वती जनता माध्यमिक विद्यालय, बैवाहका विद्यार्थी गोरख बहादुर रोकायाले ३.९५ जि.पि.ए. ल्याउँदै सम्पूर्ण गाउँपालिकामा प्रथम स्थान हासिल गर्न सफल भएका छन्। उनको यो उपलब्धिले विद्यालयको प्रतिष्ठा मात्र बढाएको छैन, सम्पूर्ण शैक्षिक क्षेत्रमै सकारात्मक सन्देश प्रवाह गरेको छ।

उक्त उपलब्धिको कदर गर्दै विद्यालयले एक औपचारिक कार्यक्रमका बीच गोरख बहादुर रोकायालाई सम्मान गरेको छ। सोही अवसरमा ३.५८ जि.पि.ए. सहित विद्यालयमा द्वितीय स्थान हासिल गर्ने भिम बहादुर बुढा र ३.४० जि.पि.ए. सहित तृतीय स्थान हासिल गर्ने मनिषा जोशीलाई पनि सम्मान तथा बधाई ज्ञापन गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपेन्द्र बहादुर बुढा लगायत सम्पूर्ण शिक्षक परिवारको उपस्थिति रहेको थियो।

विद्यालयले यस वर्ष १ सय १२ विद्यार्थीमध्ये ५४ जना (४८.२१ प्रतिशत) विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ। केही विद्यार्थीहरू एक वा दुई विषयमा ‘नन ग्रेडेड’ भए पनि समग्र नतिजा उत्साहजनक रहेको विद्यालयले जनाएको छ।

गाउँपालिका भरको तथ्यांक हेर्दा, यस वर्ष ४ सय ९३ विद्यार्थीमध्ये २ सय ३३ जना (४७.२६ प्रतिशत) उत्तीर्ण भएका छन्। गत वर्षको २४.०६ प्रतिशतको तुलनामा यस वर्ष २३.२ प्रतिशतले सुधार हुनु शिक्षा क्षेत्रमा सकारात्मक संकेत मानिएको छ।

स्थानीय शिक्षा क्षेत्रमा देखिएको यो प्रगति शिक्षकहरूको समर्पण, विद्यालय व्यवस्थापनको सक्रियता र विद्यार्थीहरूको मिहेनतको प्रतिफल भएको सरोकारवालाहरूको भनाइ छ।

विद्यालयले ग्रेडेड हुने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन प्रेरित गरेको छ। साथै, यस्तो सुधारले बेलडाँडीको शैक्षिक भविष्य उज्ज्वल बन्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित