काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले रमाना भएर पनि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ।
मन्त्रालयले सोमबार सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नियमित रूपमा उपस्थित नभएको, कर्मचारीहरू समयमै कार्यालयमा नआएको र यसले सेवा प्रवाहमा गम्भीर असर परेको उल्लेख गरेको छ।
मन्त्रालयका अनुसार स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीहरूलाई नियमित रूपमा कार्यालयमा उपस्थित भई कामकाज गर्न निर्देशन दिइएको छ। साथै, हालसम्म हाजिर नभएका कर्मचारीलाई यथाशीघ्र सम्बन्धित स्थानीय तहमा उपस्थित हुन आग्रह गरिएको छ।
सूचनामा स्पष्ट रूपमा भनिएको छ, “निर्णय बमोजिम रमाना भई नगएमा र स्थानीय तहको सेवा प्रवाह प्रभावित भएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।”
मन्त्री प्रतिभा रावल को नेतृत्वमा मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतविहीन ८० भन्दा बढी स्थानीय तहमा कर्मचारी खटाएको थियो। तर केही कर्मचारी अझै पनि तोकिएको स्थानमा नपुगेपछि स्थानीय तहको कामकारबाही प्रभावित भएको जनाइएको छ।
यसैबीच, मन्त्रालयले गुनासो व्यवस्थापनका लागि केन्द्रसमेत स्थापना गरेको छ। गुनासोको संख्या बढ्दै गएपछि मन्त्रालयले कर्मचारीलाई तत्काल हाजिर हुन र अटेर गरे कडा कारबाही गर्ने चेतावनीसहित सूचना जारी गरेको हो।






















Discussion about this post