दैजी-बेलडाँडी सडकमा बाघ आक्रमणको घटना सदनमा गुञ्जियो, समाधानको आशामा स्थानीय

बेलडाँडी । कञ्चनपुरको दैजी-बेलडाँडी सडक खण्डमा हिजो बेलुका भएको बाघ आक्रमणको घटना अहिले सदनसम्म पुगेको छ ।

बेलौरी नगरपालिका-९ रतनपुरका बिरेन्द्र ठगुन्ना, उनकी श्रीमती कल्पना ठगुन्ना, अढाई वर्षका छोरा रियान्स ठगुन्ना तथा भिनपा-१५ खैरभट्टकी बालिका आरुसी शाहु बाघको आक्रमणबाट घाइते भएका हुन् । चारै जनाको महाकाली अस्पतालमा उपचार पछि थप उपचारका लागि धनगढी पठाईएको थियो ।

घाइते बिरेन्द्र ठगुन्नाका अनुसार उनीहरू महेन्द्रनगरबाट बेलौरीस्थित घर फर्किने क्रममा बेलडाँडीको कालिकिच क्षेत्र नजिक सडकमा एक्कासी बाघ देखा परेको थियो । बाघले सुरुमा मोटरसाइकल चालक बिरेन्द्रमाथि झम्टिएपछि मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको उनले बताए ।

“हामीले होहल्ला गरेपछि बाघ पछि हट्यो, त्यसपछि महेन्द्रनगरतर्फ आउँदै गरेको सरकारी गाडीले उद्धार गरेर अस्पताल पुर्‍यायो, भाग्यले ज्यान बच्यो,” उनले भने ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र भएर सञ्चालन हुने दैजी-बेलडाँडी सडकमा पछिल्लो समय वन्यजन्तुको जोखिम बढ्दै गएपछि स्थानीय तथा यात्रु त्रसित बनेका छन् । विशेषगरी रातिको समयमा यात्रा गर्न नागरिकले असुरक्षित महसुस गर्न थालेका छन् ।

यसैबीच, क्षेत्रका अभिभावक तथा सांसद जनक सिंह धामी ले उक्त घटनालाई सदनमा जोडदार रूपमा उठाएका छन् । उनले घाइतेहरूको उपचार खर्च निकुञ्ज पक्षले व्यहोर्नुपर्ने माग गर्दै जंगली जनावरका कारण स्थानीयले भोग्दै आएको समस्या दीर्घकालीन रूपमा समाधान गर्न निकुञ्ज ऐन र वन ऐन संशोधन आवश्यक रहेको बताएका छन् ।

साथै उनले बेलडाँडीको कालिकिच ताल लगायत बस्ति संग जोडिएको एरिया करिब ५ सय मिटर क्षेत्र सामुदायिक वनमा रूपान्तरण गर्नुपर्ने माग समेत राखेका छन् । यसले वन्यजन्तु बस्तीमा प्रवेश गर्ने जोखिम कम हुने र स्थानीयको सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

पछिल्लो समय यस क्षेत्रका समस्या लगातार सदनमा गुञ्जिन थालेपछि स्थानीयवासीमा अब आफ्ना आवाज राज्यसम्म पुग्न थालेको अनुभूति बढेको छ ।

जनप्रतिनिधिहरूले स्थानीयको सुरक्षा, उपचार र दीर्घकालीन समाधानका सवाल उठाउन थालेपछि समस्या समाधान हुनेमा स्थानीय आशावादी र विश्वस्त देखिएका छन् ।

दैजी-बेलडाँडीमा बाघको आक्रमण बारे सदनमा कुरा राख्दै माननीय जनक सिह धामी..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित