कञ्चनपुर, जेठ ११ । कञ्चनपुरको बेलडाँडी-२ स्थित रोलेश्वर माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना खुला गरेको छ । व्यवस्थापन तथा शिक्षा संकायमा भर्ना सुरु गरेको विद्यालयले विद्यार्थीमैत्री शुल्क नीति, छात्रवृत्ति तथा विशेष सहुलियतका कार्यक्रम सार्वजनिक गर्दै अभिभावक र विद्यार्थीको आकर्षण बढाएको हो ।
विद्यालयले यस वर्ष भर्नामा विभिन्न सहुलियतका कार्यक्रम ल्याएको जनाएको छ । विद्यालयका अनुसार एउटै अभिभावकका दुई जना सन्तान अध्ययन गर्ने भए एक जनाको मात्र शुल्क लाग्ने र अर्को एक जनालाई निःशुल्क अध्ययन गराइने व्यवस्था गरिएको छ । त्यस्तै SEE परीक्षामा ३ GPA भन्दा माथि अंक ल्याउने विद्यार्थीलाई निःशुल्क भर्नाको सुविधा प्रदान गरिनेछ ।
विद्यालयले कक्षा ११ को भर्ना शुल्क एकमुष्ट बुझाउने विद्यार्थीलाई ८ हजार रुपैयाँ तथा किस्ताबन्दीमा बुझाउनेलाई ९ हजार रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ । साथै गरिब, अभिभावकविहीन तथा समस्यामा रहेका विद्यार्थीहरूको अवस्था शिक्षकमार्फत अध्ययन गरी २५ प्रतिशतदेखि ५० प्रतिशत हुँदै शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर धामीका अनुसार विद्यालय अहिले शैक्षिक सुधार अभियानमा सक्रिय रूपमा लागेको छ । गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, दक्ष शिक्षक र आधुनिक शिक्षण पद्धतिमार्फत विद्यालयलाई पालिकाकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने लक्ष्यसहित काम भइरहेको उनले बताए ।
अध्यक्ष धामीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पनि शिक्षाको पहुँचबाट टाढा हुन नदिन विद्यालयले सहुलियत तथा छात्रवृत्तिमा विशेष ध्यान दिएको उल्लेख गरे । “विद्यालयमा कुनै पनि विद्यार्थी आर्थिक समस्याका कारण पढाइबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो,” उनले भने ।
विद्यालय प्रशासनले समयमै भर्ना गरी आफ्नो सिट सुरक्षित गर्न विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ । विद्यालयमा व्यवस्थापन संकायअन्तर्गत बिजनेस स्टडिज र कम्प्युटर साइन्स तथा शिक्षा संकायअन्तर्गत अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य तथा जनसंख्या शिक्षा विषय अध्ययन गराइने जनाएको छ ।























Discussion about this post