काठमाण्डौं । नेपालका महिला र पुरुष दुवै टोली खोखो विश्वकपको फाइनलमा प्रवेश गरेका छन् । दुवै टोलीले आज आइतवार खो खो विश्वकपको फाइनल खेल खेल्दैछ । भारतको नयाँ दिल्लीमा इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिला फाइनल खेल आइतबार साँझ ७ बजे र पुरुष फाइनलसवा ८ बजेदेखि सुरु हुनेछ ।
शनिबार महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले हराएर फाइनलमा स्थान बनाएको हो । यो नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ । नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन ।
यस्तै, नेपाली पुरुष टिमले पनि इरानलाई ७२–२० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । नेपाली महिला टिम अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपाली महिला टिमले भुटान, जर्मनी, श्रीलंका, र बंगलादेशलाई हराएर समूह ‘सी’को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो । त्यसपछि नेपालले अन्तिम आठमा इरानलाई पनि एकपक्षीय खेलमा हराएको थियो ।
नेपालको पुरुष टिम उद्घाटन खेलमा भारतसँग पराजित भएपनि पेरु, ब्राजिल, भुटान र बंगलादेशलाई हराएर अन्तिम चारमा स्थान बनाएको हो । फाइनल पुगेर इतिहास रचिसकेको नेपालले अब फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी उचाल्ने लक्ष्य राखेको छ । फाइनल जिते नेपाली खेलकुदका लागि त्यो ऐतिहासिक क्षण हुनेछ ।
Discussion about this post