बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं. ५ स्थित शक्तिफाँटा क्षेत्रमा सशस्त्र प्रहरी बलको २४ औं स्थापना दिवसको अवसरमा नेपाल र भारतका सीमा सुरक्षा बलबीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता आज सम्पन्न भएको छ ।
यस प्रतियोगितामा नेपाली टोलीको नेतृत्व भुडा विओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक जोख बहादुर पुनले गरे भने, छिमेकी मुलुक भारतको कम्बोजनगर स्थित ४९ बटालियन एफ कम्पनी प्रमुख एसी जोगिंदर सिंहको नेतृत्वमा टोली सहभागी भएको थियो ।
नेपालको निम्तो स्वीकार गर्दै भारतका सीमा सुरक्षा बलका खेलाडीहरूले यस मैत्रीपूर्ण खेलमा भाग लिएका थिए । यो प्रतियोगिता दुबै देशका सीमा सुरक्षा बलका खेलाडीहरू बीच मित्रता र सहकार्यको अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
बेलडाँडी गाउँपालिका वडा नं. ५ का अध्यक्ष ईन्द्र बहादुर खडकाले कार्यक्रममा बोल्दै भने, “यस प्रकारका कार्यक्रमले दुई देशका सीमा सुरक्षाका बलहरूको सम्वन्धलाई प्रगाढ बनाउँछ र आपसी समझदारी र सहकार्यलाई बल पुर्याउँछ ।“ उनले यस खेलको माध्यमबाट सीमा सुरक्षामा खटिएका खेलाडीहरू बीच मित्रता बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा झिलमिला वीओपी इन्चार्ज त्रिलोक खडका लगायतका अन्य सरोकारवाला व्यक्तिहरूको पनि सहभागिता रहेको थियो । दुबै देशका सीमा सुरक्षा बलका सदस्यहरूले एक–अर्कासँग खेल र मित्रताको भावनासँग प्रतिस्पर्धा गर्दै कार्यक्रमको समापन गरे ।
यस प्रकारका मैत्रीपूर्ण खेलहरूले दुई देश बीचको सम्बन्धलाई थप बलियो बनाउने र सिमा सुरक्षा क्षेत्रमा सहकार्य र समन्वयलाई प्रवर्धन गर्ने विश्वास व्यक्त गरिएको छ । यस कार्यक्रमले नेपाल र भारतको बीचमा सिमा सुरक्षा सम्बन्धको नयाँ अध्याय खोल्ने आशा व्यक्त गरिएको छ ।
Discussion about this post