झापा :प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश अब स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको दाबी गरेका छन्।
शनिबार दमकमा आयोजित पार्टीको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले अब राजनीतिक तमासा र ‘स्टन्ट’ गर्नेहरूको भ्रम चिर्दै अघि बढ्न थालेको बताएका हुन्।
‘गाडी चलाउन सिकेका पनि छैनन्, तर स्टेयरिङ समाएर हुइँकन खोज्छन्,’ उनले तर्क गर्दै भने, ‘ढुंगा हान्ने, रक्सी लुट्ने, आगजनी गर्नेहरू अबको राजनीति बनाउने हैसियतमा छैनन्।’
उनले बैँक लुट्ने, सडकमा अराजकता मच्चाउने र पुरानो राजतन्त्र ब्युँताउने सपना देख्नेहरूलाई जनताले चिन्न थालिसकेको बताए। ‘१५ चैतको तीनकुने घटनाले यस्तो प्रवृत्तिको अशली अनुहार देखाइसकेको छ,’ ओलीको टिप्पणी थियो।
प्रधानमन्त्री ओलीले यसअघि आफू प्रधानमन्त्री हुँदा पार्टीभित्रैका केही स्वार्थी र फुटवादी समूहले पार्टी सिध्याउने प्रयास गरेको उल्लेख गर्दै त्यसवेला अदालतको समेत प्रयोग गरेर आफूहरूलाई सत्ताबाट हटाइएको आरोप पनि लगाए।
‘तर, जनताको अभिमतबाट फेरि सरकारको नेतृत्वमा आएका छौं,’ ओलीले भने, ‘अब स्थायित्वको अठोट गरेर अघि बढ्छौं, भ्रममा पर्नु पर्दैन।’
आगामी बजेटबाट विकासलाई नयाँ गती
प्रधानमन्त्री ओलीले रोकिएका विकास आयोजना, अधुरा सडक तथा योजनाहरू अघि बढाइने स्पष्ट पारे। कृषि आधुनिकीकरण र उद्यमशीलता प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राख्ने भन्दै उनले आगामी बजेट र नीति कार्यक्रममा नयाँ सोच र दृष्टिकोणले अघि बढ्ने बताएका छन्।
‘हामीले अध्यादेशमार्फत पाँच महत्वपूर्ण कानुन ल्याएका छौं, भूमिसम्बन्धी कानुन पनि चाँडै ल्याइनेछ,’ उनले बताए, ‘भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्न संसद्को आगामी अधिवेशनमै कानुन ल्याइन्छ।’
ओलीले घाटामा रहेको अर्थतन्त्र सुधारको बाटोमा लागेको जिकिर गर्दै मुलुकलाई गरिबीबाट मुक्त गर्न सरकार पूर्णतः सक्रिय रहेको जनाए।
‘एमालेविनाको सपना देशद्रोही’
प्रधानमन्त्री ओलीले एमाले विहीन नेपालको सपना देख्नेहरूलाई चेतावनी दिँदै भने, ‘यस्ता सपना देशद्रोही हुन्, पूरा हुँदैनन्।’ उनले पार्टी अझ बलियो भएर अघि बढ्ने दाबी गर्दै भने, ‘एमाले असफल भयो भने देश असफल हुन्छ।’
Discussion about this post