काठमाडौँ :संसद्को शिक्षा समितिअन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथि परिच्छेद १४ सम्ममा सहमति जुटाएको छ। आज शनिबारको दिन समेत छलफल गर्दै उपसमितिले केही दफा छोड्दै अधिकांशमा सहमति बनाएको हो।
उपसमिति सदस्य सरिता भुसालका अनुसार विधेयकमाथिको छलफल फास्ट ट्र्याकमा भइरहेको छ। तर, कुन कुन विषयमा सहमति भएको भन्नेबारे हाल खुलाउन सकिने अवस्था नरहेको उनले बताइन्।
परिच्छेद १४ मा ‘कसुर र सजाय’ सम्बन्धी व्यवस्था समेटिएको छ। त्यसअन्तर्गत दफा १४२ मा कसुर तथा सजाय, र दफा १४३ मा नेपाल सरकार वादी हुने प्रावधान राखिएका छन्।
भुसालका अनुसार उपसमितिले निजी विद्यालय र शिक्षकसम्बन्धी दफा बाहेक अन्य अधिकांश विषयमा सहमति जुटाएको हो। उनका अनुसार यी दुवै विषय निकै जटिल र संवेदनशील भएकाले अन्तिममा छुट्टै छलफल गर्ने योजना रहेको छ।
शिक्षकहरूले आन्दोलन चर्काइरहेका बेला समितिले १६३ दफामध्ये हालसम्म १४५ दफामा सहमति जुटाएको छ। यद्यपि केही विवादित र बिचका दफाहरूमा पछि छलफल गर्ने भन्दै हाललाई ती दफा स्थगित गरिएको उपसमितिको भनाइ छ। समितिले यथासक्य चाँडो छलफल टुंग्याउने गरी काम गरिरहेको पनि भुसालले बताइन्।
Discussion about this post