बेलडाँडी, कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३, कमरीका भैंसीपालक किसान हरकिशन रानाको रहस्यमय मृत्यु भएको तीन महिना पुग्न लाग्दा पनि घटनाको सत्यतथ्य अझै सार्वजनिक हुन सकेको छैन। घटनालाई लिएर गाउँदेखि सहरसम्म चासो र आशंकाहरू गहिरिँदै गएको छ।
गएको बैशाख ९ गते बिहान, बेलौरी नगरपालिका–१० स्थित निर्मल आर्यघाट नजिकै हरकिशनको जलेको मोटरसाइकलसँगै शव फेला परेको थियो। प्रारम्भिक अवस्थादेखि नै शंकास्पद देखिएको घटनाले गाउँमा त्रास, अविश्वास र अनेक अड्कलबाजी फैलिएको थियो।
रानाको मृत्यु सामान्य होइन भन्दै आफन्त र स्थानीयहरूले लगातार विभिन्न कोणबाट प्रश्न उठाउँदै आएका छन्। घटनास्थलको स्वरूप, समयको अनिश्चितता र परिस्थितिको जटिलताले घटनालाई अझै रहस्यमय बनाइरहेको छ।
अनुसन्धानका लागि प्रहरी प्रशासनले अनुभवी अधिकृतहरूको टोली परिचालन गरेको छ। टोलीले घटनास्थलको सूक्ष्म अध्ययन, शव परीक्षण, मोबाइल लोकेसन ट्रेसिङ, कल डिटेल्स, प्रत्यक्षदर्शीका बयान तथा डिजिटल प्रमाणहरूको विश्लेषण गर्दै अनुसन्धानलाई सघन बनाएको जनाएको छ।
सोमबार, कञ्चनपुर प्रहरीले आयोजना गरेको वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) खडक बहादुर खत्रीले रानाको मृत्यु प्रकरण अनुसन्धान अन्तिम चरणमा रहेको जानकारी दिएका छन्।
उनका अनुसार, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा इलाका प्रहरी कार्यालय बेलडाँडीले संयुक्तरूपमा अनुसन्धान गरिरहेका छन्। मृत्युको कारण पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान जारी छ भने केही विधि विज्ञान प्रयोगशालाका प्रतिवेदनहरू अझै आउन बाँकी रहेको प्रहरीको भनाइ छ।
हालसम्म घटनासँग सम्बन्धित एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ भइसकेको छ। यद्यपि, अहिलेसम्म कसैलाई थुनामा राखेर अनुसन्धान गरिएको छैन।
प्रहरीले प्रमाण, तथ्य र विज्ञानमा आधारित निष्कर्ष सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। “बाहिरी दबाब होइन, प्रहरीको धर्म अनुसार हामी अनुसन्धान गर्दैछौं,” प्रहरी स्रोतको भनाइ छ।
मृतकका परिवार र स्थानीय बासिन्दाले घटनामा राजनीतिक चलखेलको आशंका गर्न थालेका छन्। दोषी पहिचान नहुनुमा राजनीतिक प्रभावको सम्भावना नकार्न नसकिने भन्दै उनीहरूले निष्पक्ष र पारदर्शी अनुसन्धानको माग गरिरहेका छन्।
“समय लागोस्, तर सत्य लुकेर नबसोस्,” स्थानीयको भावना छ। रानाको मृत्युले एउटा परिवार मात्र होइन, सम्पूर्ण समाजमा शोक र सन्देहको गहिरो छाया छोडेको छ। अब सम्पूर्ण ध्यान प्रहरी प्रशासनको निष्कर्षतर्फ केन्द्रित छ। सत्य के हो-त्यो छिट्टै सार्वजनिक हुने स्थानीयको अपेक्षा हो।





















Discussion about this post