लागुऔषधदेखि चोरी तस्करीसम्म : कञ्चनपुर प्रहरीको निर्मम एक्शन

कञ्चनपुर । पछिल्ला वर्षहरूमा समाजमा लागुऔषध प्रयोग, ओसारपसार र बेचबिखन जस्ता कुलत भयावह बन्दै गएका बेला कञ्चनपुर प्रहरीले कडा र निर्मम कारबाही अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा लागुऔषधका मुद्दा मात्र हैन, यससँग सम्बन्धित तस्करी, चोरी, सवारी दुर्घटना र विविध अपराध नियन्त्रणमा प्रहरीले उच्च सक्रियता देखाएको छ।

प्रहरी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा १०५ वटा लागुऔषधसम्बन्धी मुद्दामा २९३ व्यक्ति, ०८०/८१ मा १८१ मुद्दामा २८७ व्यक्ति र ०८१/८२ मा १७७ मुद्दामा २६५ जना विरुद्ध कारबाही भएको छ। यस अवधिमा प्रहरीले खैरो हिरोइन १,६७१.७७ ग्राम, चरेश ११५.२१९ किलो, गाँजा ७८.६३ किलो, एम्पुल १,९५८ थान र ट्याब्लेट १६८ थान बरामद गरेको जनाएको छ।

कञ्चनपुर प्रहरीले आर्थिक वर्ष ०८०/८१ मा ६ करोड ३७ लाख ८५ हजार बराबरको भन्सार छलिएका वस्तु नियन्त्रणमा लिएको थियो भने ०८१/८२ मा त्यो रकम ७ करोड ३९ हजार ५४७ रुपैयाँ पुगेको छ।

गत वर्ष मात्रै ९७ वटा सवारी साधनसहित ६ जना पक्राउ परेका थिए। नदी, खोला दोहन गर्ने ट्रयाक्टरबाट ११ लाख ८५ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ। मापसे (मादक पदार्थ सेवन) गरी सवारी चलाउने १ लाख ७४ हजार बराबरको जरिवाना तिराइएको छ।

प्रहरीले काठ तस्करी नियन्त्रण अन्तर्गत ५०५ क्युफिट काठ बरामद गर्दै ८ जना पक्राउ र ७ सवारी नियन्त्रणमा लिएको छ। यस अन्तर्गत ११ लाख ५५ हजार ६६० रुपैयाँ बराबरको जरिवाना असुल गरिएको छ। जिल्लामा सवारी दुर्घटनाको संख्या बढ्दो छ। गत वर्ष मात्रै ५२० सवारी दुर्घटना भएका थिए, जसमा ४८० वटा मुद्दा फछ्र्योट गरिएको छ।

त्यस्तै, ०८१/८२ मा विभिन्न प्रकृतिका ९६४ मुद्दा दर्ता हुँदा ६२३ वटा मुद्दा फछ्र्योट गरिएको छ। अर्थात् करिब ६५ प्रतिशत मुद्दा फछ्र्योट भएको छ। प्रहरीका अनुसार आर्थिक वर्ष ०८०/८१ मा १,३०७ फरार अभियुक्तमध्ये ३४५ जना र ०८१/८२ मा १,२६५ मध्ये ४८७ जना पक्राउ परेका छन्। त्यस्तै, हराएका ४२० महिला, बालबालिका र जेष्ठ नागरिकमध्ये ३८० जनालाई फेला पारेर परिवारमा बुझाइएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी खडकबहादुर खत्रीका अनुसार, प्रहरीले मुद्दा दर्ता मात्र हैन, सचेतना अभियान र समुदाय–प्रहरी साझेदारी पनि अघि बढाएको छ। विद्यार्थीदेखि सर्वसाधारणसम्म लक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

प्रवक्ता डिएसपी सागर बोहराका अनुसार, अवैध गाँजा नष्ट गर्नेदेखि अभिमुखीकरण र सचेतना समेटिएका २७ किसिमका कार्यक्रम सञ्चालन गरिएको छ। ‘अपराध नियन्त्रणमा समुदाय प्रहरी साझेदारी अपरिहार्य छ,’ उनले भने।

एसपी खत्री भन्छन्, “न्यूनतम स्रोत–साधनको प्रयोग गर्दै पनि हामी अधिकतम सेवा प्रवाह गर्न समर्पित छौँ। शान्ति सुरक्षालाई अझ सुदृढ र चुस्त बनाउने हाम्रो प्राथमिकता हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित