बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ पदबाट निलम्बन

बेलडाँडी । नभएको घरलाई बनेको देखाएर बैंक ऋण उठाएको मुद्दामा संलग्न रहेको ठहरिएपछि बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पदबाट निलम्बन भएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा उनीसहित चार जना विरुद्ध भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेसँगै प्रचलित कानुनअनुसार नाथको पद निलम्बनमा परेको हो ।

अख्तियारले दायर गरेको आरोपपत्र अनुसार, बेलडाँडी–२ की शान्ति नाथले कित्ता नं. ३५७, क्षेत्रफल ४०० वर्गमिटर जग्गामा नभएको घर बनेको देखाउँदै झुट्टा नक्सा तयार गरी लक्ष्मी सनराइज बैंकबाट दुई चरणमा गरी रु. ३३ लाख ७५ हजार ऋण लिएको ठहरिएको छ ।

उक्त झुट्टा नक्सा तयार पार्ने क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सब-इन्जिनियर जय कुँवर र असिस्टेन्ट सब-इन्जिनियर तेजबहादुर सुनारको मिलेमतो रहेको अनुसन्धानमा पुष्टि भएको आयोगले जनाएको छ।

आयोगबाट खटिएको टोलीले स्थलगत अध्ययनमा जग्गामा कुनै पनि पक्की संरचना नभएको किटानी प्रमाणसहित मुचुल्का तयार गरेको थियो । नापी कार्यालय, बेलौरीले पनि त्यही जग्गामा कुनै निर्माण नदेखिएको स्पष्ट उल्लेख गरेको छ ।

यसै आधारमा अख्तियारले आरोपीहरूले नक्सा अभिलेखीकरण/घर प्रमाणित गर्ने, गलत कागजात बनाउने तथा बैंक ऋण लिन सहज बनाउने उद्देश्यले आपसी मिलेमतोमा भ्रष्टाचारजन्य कार्य गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम मुद्दा दायर भएपछि शान्ति नाथ उपाध्यक्ष पदबाट स्वचालित रूपमै निलम्बन भएका हुन् ।

यस घटनाले स्थानीय तहमा नक्सा प्रमाणीकरण, घर अभिलेखीकरण प्रक्रिया र नियमन प्रणालीप्रति गम्भीर प्रश्न उठेको स्थानीयवासीहरूको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित