बेलडाँडी । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी कञ्चनपुरद्वारा आयोजना हुने माध्यमिक विद्यालय (मा.वि.) स्तरीय हाजिरी-जवाफ प्रतियोगिताको छनोट प्रतियोगिता शुक्रबार बेलडाँडी गाउँपालिकाको सरस्वती जनता माध्यमिक विद्यालय, बैबाहमा सम्पन्न भएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै श्री सरस्वती माध्यमिक विद्यालय, झरनासागरका विद्यार्थीहरूले प्रथम स्थान हासिल गर्दै जिल्लास्तरका लागि छनोट भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा, युवा तथा खेलकुद विकास शाखा बेलडाँडीका शाखा प्रमुख भानुभक्त जोशी रहेका थिए भने विशिष्ट अतिथिका रूपमा NNTA कञ्चनपुर जिल्ला कमिटीका उपाध्यक्ष सत्या रोकाया तथा शिक्षा शाखा बेलडाँडीका अधिकृत लोकेन्द्र बहादुर शाही उपस्थित रहे।
बेलडाँडी गाउँपालिकास्थित ६ वटा सामुदायिक माध्यमिक विद्यालयको सहभागितामा सम्पन्न प्रतियोगिताको प्रथम: श्री सरस्वती माध्यमिक विद्यालय झरनासागर, द्वितीय: श्री गणेश माध्यमिक विद्यालय भुर्सा, तृतीय: श्री सरस्वती जनता माध्यमिक विद्यालय बैबाह भएका थिए ।
गाउँपालिकाका विभिन्न शिक्षक ट्रेडका अध्यक्षहरू समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सभाध्यक्षता नेपाल राष्ट्रिय शिक्षक संगठन गाउँ कमिटी बेलडाँडीका अध्यक्ष बम बहादुर बुढाले गरेका थिए।
उक्त कार्यक्रमको सञ्चालन सचिव दिपक नेपालीले गरेका थिए भने उपाध्यक्ष जनक बहादुर थापाले स्वागत मन्तव्य र प्र.अ. दिपेन्द्र बुढाले शुभकामना मन्तव्य प्रदान गरेका थिए।
विद्यालयहरूका प्र.अ. तथा शिक्षकहरूको सक्रिय सहयोगप्रति संगठनले आभार व्यक्त गरेको छ।
आगामी जिल्ला स्तरीय हाजिरी-जवाफ प्रतियोगिता पुसको दोस्रो सातादेखि सुरु हुने र त्यसमा बेलडाँडी गाउँपालिकाबाट झरनासागरको टोलीले प्रतिनिधित्व गर्ने जनाएको छ।
























Discussion about this post