धनगढी । पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु जन्माएर झाडीमा फाल्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–८ भद्रटोलकी २९ वर्षीया राममति रानालाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ सुरु गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार ती महिला विवाहित हुन् र उनका श्रीमान् रोजगारीका सिलसिलामा विदेशमा छन्।
प्रहरीका अनुसार प्रसव पीडाका कारण महिला हाल धेरै बोल्न सक्ने अवस्थामा नरहेकाले नवजात शिशु झाडीमा फाल्नुको कारणबारे विस्तृत विवरण उपचारपछि मात्र खुल्नेछ।
हिजो बिहान धनगढी उपमहानगरपालिका–८ भद्रटोलस्थित नालानजिक झाडीमा फालिएको अवस्थामा नवजात शिशु फेला परेको थियो। बिहान करिब साढे ९ बजे सालनाल लागेको र कपडाले बेरिएको अवस्थामा शिशु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले तत्काल शिशुको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको थियो। प्रहरीका अनुसार छोरी रहेको नवजात शिशुको स्वास्थ्य अवस्था हाल सामान्य र सकुशल रहेको छ।
नवजात शिशु बेवारिसे अवस्थामा भेटिएपछि प्रहरीले घटनास्थल वरपर खोजतलास तथा अनुसन्धान गरी आमाको पहिचान गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
हेर्नुस् भिडियो























Discussion about this post