जलवायुमैत्री प्रविधिबाट लालझाडीका किसान आत्मनिर्भर बन्दै, सक्षम परियोजनाबाट १२ सयभन्दा बढी घरधुरी लाभान्वित

पहिलाद राना/कञ्चनपुर । कञ्चनपुरको भौगोलिक रूपमा विकट लालझाडी गाउँपालिकाका किसानहरू जलवायुमैत्री प्रविधि अपनाउँदै व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका छन् । झण्डै साढे चार वर्षदेखि सञ्चालनमा रहेको समायानुकुलित जीविकोपार्जनका लागि साना किसानको क्षमता अभिवृद्धि (सक्षम) परियोजना मार्फत लालझाडीका १ हजार २ सय ६० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका हुन् ।

लिबर्ड संस्थाले सन् २०२२ देखि २०२५ सम्म सञ्चालन गरेको उक्त परियोजनाले खाद्य तथा पोषण सुधार, आय आर्जन वृद्धि, जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । लिबर्डका कार्यक्रम अधिकृत नवीन पौडेलका अनुसार साना किसान, भूमिहीन, मुक्त कमैया, हलिया, दलित, थारु तथा आदिवासी जनजाति समुदायलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो ।

परियोजनाअन्तर्गत किसानलाई तालिम, जलवायुमैत्री सामग्री वितरण, घर-विद्यालय बगैँचा निर्माण, गोठ सुधार, पशुपालन तथा पशु बीमा, जैविक तटबन्ध, बहुउद्देश्यीय नर्सरी, सौर्य सिँचाइ, उद्यमशील विकास तालिम लगायतका कार्यक्रम सञ्चालन गरिएको पौडेलले बताए । यसले किसानलाई निर्वाहमुखी कृषि प्रणालीबाट व्यावसायिक कृषितर्फ अग्रसर गराएको उनको भनाइ छ ।

चाँन्देवकीकी स्थानीय किसान पार्वती चौधरीले तीन कट्टा जमिनमा टनेलसहित टमाटर, करेला, बोडी, खिरा, भिण्डी र लौकाजस्ता तरकारीको व्यावसायिक खेती गर्दै आएकी छन् । सिँचाइको अभाव हुँदाहुँदै पनि आधुनिक प्रविधिको सहयोगले तरकारी खेतीबाट घरखर्च चलाउन सफल भएको उनले बताइन् ।

त्यस्तै अर्की किसान बेलमती चौधरीले घरबाट निस्किने फोहोरपानी संकलन, पशुधनको गोबर र मूत्र प्रयोग गरी प्राङ्गारिक मल उत्पादन गर्दै थोपा सिँचाइ प्रणालीमार्फत चार कट्टा जमिनमा बेमौसमी मकैसहित विभिन्न तरकारी खेती गर्दै आएकी छन् । सौर्य ऊर्जाबाट सिँचाइ सुविधा भएपछि उत्पादन र आम्दानी दुवै बढेको उनको अनुभव छ ।

परियोजनाका सामाजिक लेखा परीक्षक धिरेन्द्र सिनालले किसानको जीवनशैलीमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दै विगतमा निर्वाहमुखी कृषिमा सीमित किसान अहिले व्यावसायिक कृषिमा जोडिएको बताए । सहकारीमार्फत बचत र लगानीसमेत बढेको र किसानको खाद्य उपभोगमा सुधार आएको उनले जानकारी दिए ।

लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले परियोजनाबाट प्राप्त सिकाइ र उपलब्धिलाई स्थानीय सरकारले दिगो रूपमा अघि बढाउने प्रतिबद्धता जनाए । गाउँपालिका अध्यक्ष निर्मल रानाले संस्थाले सुरु गरेको कार्यक्रमलाई नीतिगत रूपमा समेट्दै किसानलाई थप आत्मनिर्भर बनाउने योजना अघि बढाइने बताए ।

बिहीबार आयोजित सामाजिक परीक्षण तथा परियोजना हस्तान्तरण कार्यक्रममा लालझाडी गाउँपालिकाले परियोजना र कर्मचारीहरूलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको छ । कार्यक्रमले लालझाडीका किसानलाई आत्मनिर्भर, दिगो र जलवायुमैत्री कृषितर्फ डो¥याउने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित