बेलडाँडी । बेलडाँडीमा १६औँ राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । बेलडाँडी गाउँ खेलकुद विकास समितिको आयोजनामा झर्नासागरस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
बेलडाँडी गाउँ खेलकुद विकास समितिका अध्यक्ष डम्बरबहादुर सुनारका अनुसार प्रतियोगितामा ३ निजी र ६ सामुदायिक विद्यालयका विद्यार्थी खेलाडीहरूले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने र त्यसपछि समापन गरिने उनले जानकारी दिए । यसअघि पनि सरस्वती माध्यमिक विद्यालय झर्नासागरमै राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आयोजना हुँदै आएको छ ।
सरस्वती माध्यमिक विद्यालय झर्नासागरका प्रधानाध्यापक जनक थापाले गाउँपालिकाभरिका सहभागी खेलाडी विद्यार्थीलाई स्वागत गर्दै प्रतियोगिता भव्य, सभ्य र निष्पक्ष ढंगले सम्पन्न गरिने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले नियमित पढाइसँगै खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । खेलकुद क्षेत्र भविष्यमा उद्गम थलो र सम्भावनाको क्षेत्र बन्न सक्ने उल्लेख गर्दै उनले सबै विद्यालय तथा खेलाडीलाई स्वतन्त्र, निष्पक्ष र मर्यादित प्रतिस्पर्धाका लागि शुभकामना दिए ।
त्यस्तै बेलडाँडी गाउँपालिका-१ का वडाध्यक्ष गजबहादुर विष्टले राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास र प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खडकाले यस्ता प्रतियोगिताबाट जिल्लाका लागि उत्कृष्ट खेलाडी उत्पादन हुने उल्लेख गर्दै बेलडाँडीमा खेलकुदप्रतिको उत्साह प्रशंसनीय रहेको बताए ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताले बेलडाँडीलाई खेलकुदमय बनाएको छ । पालिकाभरिका खेलाडी विद्यार्थी, शिक्षक, अभिभावक, खेलकुदकर्मी तथा सरोकारवाला एकै ठाउँमा भेला भएपछि प्रतियोगिताले थप रौनकता पाएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा खेलाडीलाई जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सहभागी गराइनेछ भने विजेतालाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।























Discussion about this post