बेलडाँडी । शितलहर र चिसो बढ्दै गएपछि सशस्त्र प्रहरी बल, झिलमिला बीओपीले बेलडाँडी गाउँपालिकाका मुख्य चौकचौराहमा आगो ताप्ने व्यवस्था सुरु गरेको छ ।
किसान मध्यवर्ती सामुदायिक वनको सहयोगमा झिलमिला बीओपीले बेलडाँडी गाउँपालिकाका सबै वडाका प्रमुख चौकहरूमा मुडाः तथा दाउरा वितरण गरी आगो बाल्ने कार्य थालेको हो । विशेषगरी चिसोबाट बढी प्रभावित हुने वृद्ध, बालबालिका तथा सर्वसाधारणलाई लक्षित गर्दै शनिबारदेखि यो अभियान सुरु गरिएको झिलमिला बीओपीले जनाएको छ ।
सीमा सुरक्षामा अहोरात्र खटिँदै आएको सशस्त्र प्रहरी बलले जनताको जिउधनको सुरक्षा र विपद् व्यवस्थापनमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको भन्दै स्थानीयवासीले यस कार्यको खुलेर प्रशंसा गरेका छन् । सीमामा मात्र नभई कठिन परिस्थितिमा जनताको साथीका रूपमा सशस्त्र प्रहरी उभिँदै आएको स्थानीयहरूको भनाइ छ ।
किसान मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरेन्द्र बहादुर रोकाया ले हालको अत्यधिक चिसोले वृद्ध र बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने भएकाले आगो ताप्न सहज होस् भन्ने उद्देश्यले मुडा तथा दाउरा उपलब्ध गराइएको बताए ।
यसैबीच, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना ले सीमा सुरक्षा जस्तो संवेदनशील जिम्मेवारीमा खटिँदै आएका सशस्त्र प्रहरी बलले चिसोको समयमा पनि बेलडाँडीबासीका लागि देखाएको मानवीय सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल विपद् तथा आपतकालीन अवस्थामा जनताको भरोसायोग्य साथी बनेर खटिँदै आएको उल्लेख गर्नुभयो ।
सधैँ सीमा सुरक्षामा तैनाथ रहने सशस्त्र प्रहरी बलले चिसो, बाढी, महामारीजस्ता कठिन समयमा पनि जनताको साथ नछाड्ने अभ्यासले समुदाय र सुरक्षा निकायबीचको सम्बन्ध थप सुदृढ बन्दै गएको स्थानीय सरोकारवालाहरूको भनाइ छ ।
























Discussion about this post