कञ्चनपुर । उद्योग-वाणिज्य संघ कञ्चनपुरको १८औँ अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै एकता र सहमतिमुखी अभ्यासको सन्देश दिएको छ। अधिवेशनबाट अध्यक्षमा दिनेश मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ।
त्यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र प्रकाश साउद, उद्योग उपाध्यक्षमा तेजबहादुर चन्द, वाणिज्य उपाध्यक्षमा गणेश चटौत, महासचिवमा राहुल भट्ट तथा सचिवमा नरेन्द्र प्रसाद जोशी (एनपी) निर्विरोध निर्वाचित हुनुभएको छ।
व्यवसायिक एकता, सहकार्य र संस्थागत मजबुतीलाई प्राथमिकता दिँदै अधिकांश पदमा सहमतिबाट नेतृत्व चयन हुनु संघको सकारात्मक अभ्यासका रूपमा हेरिएको छ। यसले उद्योगी-व्यवसायीबीच आपसी विश्वास बढाउने र आगामी दिनमा संघलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
हाल अन्य पदका लागि समेत सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास जारी रहेको संघले जनाएको छ। नयाँ नेतृत्वले कञ्चनपुरको उद्योग, व्यापार र समग्र आर्थिक विकासमा थप सक्रिय भूमिका खेल्ने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन्।
१८औँ अधिवेशनले विवादभन्दा सहमति, प्रतिस्पर्धाभन्दा सहकार्य र व्यक्तिभन्दा संस्थालाई प्राथमिकता दिएको सन्देश दिएको भन्दै स्थानीय उद्योगी-व्यवसायीहरूले अधिवेशनको खुलेर प्रशंसा गरेका छन्।























Discussion about this post