कञ्चनपुर, २७ — सधैं अरूका खबर संकलन गरेर समाचार प्रवाह गर्ने कञ्चनपुरका पत्रकारहरू यसपालि भने आफैं रंगीन भएका छन् । जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले मंगलबारदेखि होली पर्वको उल्लासपूर्ण सुरुआत गरेका छन् । नेपाली धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्नुका साथै असशक्त तथा विरामी पत्रकारहरूको सहयोगार्थ यो पर्व मनाउन थालिएको आयोजकहरूले बताएका छन् ।
नेपाल पत्रकार महासंघ, कञ्चनपुर शाखाका उपाध्यक्ष धर्मा रोकाया र महासंघका जिल्ला निर्वतमान सचिव राजेन्द्र प्रसाद अवस्थीले एक विशेष कार्यक्रमबीच होलीको औपचारिक उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै उपाध्यक्ष रोकायाले नेपाली संस्कृति र परम्पराको जगेर्नाका लागि होली महत्त्वपूर्ण पर्व भएको बताए । उनले भने, “पत्रकारिता क्षेत्रमा व्यस्त रहने हामीहरूलाई पनि कहिलेकाहीँ आपसी भाइचारा र एकताको प्रतीक बनेर यस्ता सांस्कृतिक पर्वहरू मनाउन आवश्यक छ ।“
यस पटकको होली कार्यक्रम पत्रकारहरूका लागि केवल मनोरञ्जनको साधन मात्र नभई सामाजिक उत्तरदायित्व पनि बोकेको छ । आयोजकहरूका अनुसार यस पर्वबाट संकलित रकम असहाय र असशक्त पत्रकारहरूको उपचारका लागि खर्च गरिनेछ । गत वर्ष पनि यस्तै कार्यक्रममार्फत संकलित रकम अनाथालयलाई सहयोगस्वरूप प्रदान गरिएको थियो भने केही पत्रकारहरू अध्ययन अवलोकन भ्रमणमा समेत गएका थिए ।
मंगलबारदेखि सुरु भएको होली पर्व शुक्रबारसम्म निरन्तर सञ्चालन गरिने आयोजकहरूले जनाएका छन् । रंगहरूको पर्वमा सहभागी पत्रकारहरूले परम्परागत भेषभूषा र ढोल–नगडाका साथ होली खेलेका छन् । विभिन्न सञ्चारमाध्यमका सम्पादक, संवाददाता, फोटोपत्रकार, भिडियो पत्रकार तथा रेडिया,े अनलाइनकर्मीहरू यो पर्वमा सरिक भएका छन् ।
यता, नेपाली कांग्रेस निकट पत्रकार संगठनले छुट्टै होली उत्सव आयोजना गरेको छ । उनीहरूले होली पर्वको अवसर पारेर आफ्ना संगठनका पत्रकारहरूको संरक्षण तथा प्रवद्र्धनका लागि अक्षयकोष खडा गर्ने घोषणा गरेका छन् ।
पत्रकारितामा दिनरात खटिने सञ्चारकर्मीहरूका लागि यस्ता कार्यक्रमहरूले आपसी एकता, सद्भाव र सहकार्यलाई प्रवद्र्धन गर्ने विश्वास आयोजकहरूले गरेका छन् । रंग, उमंग, हास्य र मेलमिलापको सन्देश बोकेको होली पर्व यस वर्ष पत्रकारहरूका लागि साँच्चिकै विशेष बनिरहेको छ ।























Discussion about this post