कञ्चनपुरको लालझाडी गाउँपालिका–४ की वडा सदस्य डल्लीदेवी चौधरीले जीवनको उत्तरार्धमा विद्यालय भर्ना भएर नयाँ प्रेरणाको कथा रचेकी छन्। नातिनातिनालाई खेलाउने उमेरमा उनी आफैं कापी–कलम समातेर कक्षा १ का विद्यार्थी बनेकी हुन्।
५२ वर्षीया डल्लीदेवी लालझाडीस्थित स्वतन्त्र माध्यमिक विद्यालयमा भर्ना भएकी हुन्। दुईपटक नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएकी डल्लीदेवीले शिक्षा नपाएको कमी महसुस गर्दै अहिले अध्ययनको यात्रामा लागेकी हुन्।
“बाल्यकालमा बाबु मालिकको घरमा हलिया थिए, हातमुख जोर्नै मुस्किल थियो,” उनी भन्छिन्, “त्यसैले म पढ्नै पाइँन। किशोरीमै विवाह भयो।” जनयुद्धको क्रममा हलिया प्रथाको अन्त्य भएपछि उनी परिवारको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
डल्लीदेवीका श्रीमान् पल्टु चौधरी पनि औपचारिक शिक्षा नलिएका भए पनि विदेशमा रोजगारीमा छन्। उनका छोरा बसन्त चौधरीले कक्षा ११ सम्म अध्ययन गरेर भारततर्फ गएका छन् भने छोरी सीता चौधरीले कक्षा १० सम्म पढेपछि विवाह गरेकी थिइन्।
“दुई पटक चुनाव जितेँ, तर पढ्न नजान्दा धेरै समस्या भयो। शिक्षा नभए जिम्मेवारी पूरा गर्न गाह्रो हुँदो रहेछ,” डल्लीदेवीले भनिन्, “त्यही महसुस भएर अहिले पढ्न थालेकी हुँ। अब म नियमित विद्यालय जान्छु।”
उनको यो साहसिक कदमले उमेर र परिस्थितिले शिक्षाको महत्व नघटाउने सन्देश दिएको छ। गाउँघरमै जन्मेर संघर्ष गर्दै आएका डल्लीदेवीले आफूजस्तै अवसर गुमाएका महिलाहरूलाई पनि जीवनमा नयाँ सुरुवात गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
डल्लीदेवी चौधरी अहिले केवल एक जनप्रतिनिधि मात्र होइनन्, उनी हजारौंका लागि आशा र आत्मबलको ज्वलन्त उदाहरण बनेकी छन्।
Discussion about this post