तिनकुने घटनासँग जोडिएर पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित २४ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
बिहीबार काठमाडौँ जिल्ला अदालतमा प्रस्तुत गरिएका उनीहरूलाई सातौँ पटक म्याद थप गरी हिरासतमा राख्न न्यायाधीश मोना सिंहको इजलासले आदेश दिएको हो। उनीहरूमाथि राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान जारी रहेको अदालतले जनाएको छ।
इजलासले दुर्गा प्रसाईँलाई चिकित्सकको निगरानीमा राखेर उपचार र अनुसन्धान अघि बढाउन समेत आदेश दिएको छ। स्वास्थ्य अवस्थाका कारण राप्रपाका महामन्त्री धवलशमशेर जबरा भने हिरासतमुक्त भएका छन्। क्यान्सरको उपचारका लागि उनलाई हिरासतमुक्त गरिएको हो।
गत चैत १५ गते राजसंस्थाको पुनःस्थापनाको माग गर्दै तिनकुनेमा पूर्वराजा समर्थकहरूले आयोजना गरेको प्रदर्शन उग्र बन्दै जाँदा दुईजनाको ज्यान गएको थियो भने करोडौँ रुपैयाँ बराबरको क्षति भएको थियो।
यस घटनासँग जोडिएर अहिले अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
Discussion about this post