कञ्चनपुर,
बेलौरी नगरपालिकाले भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले अवरोध गरेको हुलाकी सडक र विद्युतीकरणको योजना अघि बढाईनुपर्ने माग अघि सारेको छ ।
बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा १२ सय मिटर हुलाकी सडक विस्तारमा अवरोध गर्दै आएको एसएसबीले अहिले आएर विद्युतीकरणमा समेत अवरोध गरेपछि नगरपालिकाले आवश्यक सहजिकरण गर्न माग अघि सारेको हो ।
बेलौरी नगरपालिका मेयर पोतीलाल चौधरीले हस्ताक्षर गरेको पत्रमा जिल्ला प्रशासन कार्यालयसंग एसएसबीद्वारा अवरोध गरिएको हुलाकी सडक विस्तारमा सहजिकरणका लागि अनुरोध गरिएको छ ।
बेलौरी नपा ८ कालोपुलदेखि पश्चिम पचुई ईटाभट्टासम्म विवाद सहित नेपाली भूमिमै हुलाकी सडक निर्माणदेखि विद्युतीकरणमा बारम्बार अवरोध भई निर्माण कार्य अवरुद्ध भएकोले पहल गरिदिन माग अघि सारेको छ ।
बेलौरी नगरपालिका कार्यपालिका बैठकले समेत उक्त एसएसबीले अवरोध गरेको सडक विस्तार र विद्युतीकरण कार्य अघि बढाउनका लागि आवश्यक सहजिकरणका लागि संघीय सरकारसंग अनुरोध गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बेलौरीले पचुई क्षेत्रमा विद्युतका पोल गाड्ने क्रममा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले अवरोध गरेपछि काम रोकिएको छ । सीमा क्षेत्रमा भारतीय पक्षबाट पटक पटक अवरोधदेखि हस्तक्षेपको सर्वत्र बिरोध गरिएको छ ।
Discussion about this post