अवैध माछा दिनहुँ भित्रिँदै, शव नसड्न प्रयोग गरिने फर्मालिन माछामा प्रयोग, जुन मानव स्वास्थ्यका लागि खतरा

134
VIEWS

बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्रका खुल्ला नाकाबाट दैनिकी रुपमा स्वास्थ्यका लागि हानिकारक अवैध माछा भित्रिने गरेको पाइएको छ ।मरेको माछालाई ताजा जस्तो राख्न भारतीय तस्करहरुले फर्मालिनको प्रयोग गर्ने गरेको जनाइएको छ । जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

यस क्षेत्रमा प्रशस्त माछा उत्पादन हुने गरे पनि भन्सार छलेर अवैध रुपमा भारतबाट दिनहुँ जसो कञ्चनपुरका विभिन्न नाकाबाट अवैध माछा भित्रिने गरेको पाइएको हो ।

विशेष गरी बेलडाँडी, झिलमिला, भुडा, सडकघाट, बेलौरी पुनर्वास लगायतका खुल्ला नाका हुँदै भारतबाट अवैधरुपमा माछा भित्रिने गरेको छ ।

नेपाल भित्रिने माछा क्वारेन्टाइनमा परीक्षणपछि मात्र भित्र्याउनुपर्ने प्रावधान छ । भित्र्याइएको माछा खानयोग्य भए नभएको प्रमाणपछि मात्र बिक्री वितरण गरिनुपर्ने भए पनि झोले व्यापारीले खुलेआम रुपमा माछा भित्र्याउँदै आएका छन् ।

कतिपय माछा व्यवसायीले अवैधरुपमा भित्रिने गरेको माछा रोक्न माग गर्दै आए पनि अधिकांश खुल्ला नाकाबाट खुलेआम रुपमा माछा भित्रिने गरेको छ । अवैधरुपमा भित्रिएका माछाका कारण बजार समेत प्रभावित हुने गरेको माछा व्यवसायीहरुको भनाइ छ ।


भन्सार गरी परीक्षण गरेर ल्याइएको माछा र अवैध माछाको मूल्य यहाँको बजारमा उस्ताउस्तै छ, भने उपभोक्ता जताबाट पनि मारमा परेका छन् । उपभोक्ताहरुका अनुसार परीक्षण भएर खान योग्य माछा मात्र ल्याउने व्यवस्था वजार व्यावस्थापन समिति, स्थानीय सरकार र प्रशासन सक्रिय रुपमा लाग्नु पर्ने बताउछन् । परीक्षण बिना र भन्सार नगरी ल्याइएको माछाले यहाँको बजार बिगार्नुका साथै मानव स्वास्थ्यमा समेत खतरा हुदै गएको छ ।

माछामा हुने फर्मालिनले ज्यानै जानसक्छ ः

के तपाईं बजारबाट माछा किनेर खानु हुन्छ ? यदि तपाईं बजारबाट माछा किनेर खाँदै हुनुहुन्छ भने तपाईं अब सचेत हुनुपर्छ । किनकी अवैध माछा ताजा राख्न तस्करहरुले फर्मालिनको प्रयोग गर्छन् । जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तर सबै माछामा भने फर्मालिन प्रयोग हुँदैन । फर्मालिन मरेका माछालाई ताजा राख्नको लागि प्रयोग गर्ने गरिन्छ । जिउँदो माछामा भने यसको प्रयोग हुँदैन । मरेका माछा नसडोस् भनेर फर्मालिनको प्रयोग हुने गरेको छ ।

फर्मालिन प्राणघातक केमिकल हो । जुन मानव शवलाई सड्न नदिन प्रयोग गर्ने गरिन्छ । फर्मालिनमा ‘मानोडिहाड’ भन्ने ग्यास उत्पन्न हुने गर्दछ । यसले मानव शरिरमा नकारात्मक असर गर्दछ । फर्मालिन प्रयोग गरेको माछा खाँदा त्यसमा रहेको केमिकलले कलेजोको क्यान्सर रोगसम्म लाग्नसक्छ ।

स्वास्थ्यकर्मीहरुका अनुसार फर्मालिनमा राखिएको माछा खाएपछि त्यो कलेजोमा गएर बस्छ र पछि गएर लिभर क्यान्सर गराउँछ । फर्मालिन प्रयोग गरेको माछा खाँदा मिर्गौला खराब हुनुका साथै जन्डिससमेत गराउँछ,’ ‘फर्मालिन प्रयोग गरेको माछा खाँदा किड्नी ड्यामेज, जडिन्स आदि पनि हुन्छ, यसले जिनेटिक शक्तिलाई समेत नष्ट गराउँछ ।’ माछामा फर्मालिनकोे मात्रा धेरै भएमा यसले तत्काल मान्छेको ज्यानै पनि लिनसक्ने उनले बताए ।

फर्मालिन माछा ताजा राख्नको लागि प्रयोग गर्नु अवैध हो । फर्मालिन प्रयोग गरेको माछामा झिंगासमेत नबस्ने र माछा ताजा देखिने गरेकाले माछा तस्करले यसको अत्यधिक प्रयोग गर्ने गरेको हुन सक्ने आकलन गरिएको छ । आम उपभोक्ता भने सोकेसमा सजाइएका मरेका माछा खाइरहेका छन् जुन माछामा फर्मालिनको प्रयोग गरिएको हुन्छ । माछालाई आइसमा राखिएपनि त्यसमा फर्मालिन प्रयोग गरेकै कारण ताजा देखिएको हुन्छ । जिउँदो माछा मरेको २ घण्टा पछिदेखि नै सड्न शुरु गर्छ । तर फर्मालिनको प्रयोगले त्यो माछा दिनभर सोकेसमा राख्दापनि सड्दैन ।

भारत, लगायतका देशबाट ल्याएका माछा जिउँदा हुँदैनन् । माछा मरेपछि चाँडो दुर्गन्धित हुन्छ । त्यसैले तस्करले माछा ताजा राख्न शव सड्न नदिनको लागि प्रयोग गर्ने गरेको पाइन्छ ।

चिकित्सकहरुले जिउँदो माछा मात्र खान सुझाएका छन् । बजारमा फर्मालिन प्रयोग भएका माछा अत्याधिक भएकाले सर्वसाधारण आफै सचेत भएर माछाको प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार