काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि अघिल्लो निर्वाचनमा समानुपातिक (PR) तर्फबाट निर्वाचित भएका व्यक्तिलाई पुनः समानुपातिक उम्मेदवार नबनाउने निर्णय गरेको छ। पार्टीले विशेष मापदण्ड तयार पारेर यसपालि समानुपातिक उम्मेदवारीमा कडाइ गर्ने भएको हो।
माघ ११ गते निर्धारित राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य सचिव कृष्णप्रसाद पौडेलले मापदण्डसहितको परिपत्र जारी गर्दै निर्णयहरू कार्यान्वयनमा ल्याएका छन्।
परिपत्रमा भनिएको छ, “२०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदमा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्तिको नाम आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फका उम्मेदवारको सूचीमा समावेश गर्न पाइने छैन।”
यससँगै २०७९ को प्रदेश सभा समानुपातिक बन्द सूचीमा परेका व्यक्तिहरू पनि यसपालि प्रतिनिधि सभा समानुपातिकको टिकट पाउने पात्र रहने छैनन्।
यस्तै २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पनि यसपटक कुनै पनि पदमा उम्मेदवार सिफारिस गर्न नपाइने परिपत्रमा उल्लेख छ।
कांग्रेसले आगामी निर्वाचनका लागि लागू गर्ने अन्य प्रमुख मापदण्ड यसप्रकार छन् : जातीय विभेद, घरेलु हिंसा, बालश्रम वा अन्य सामाजिक अपराधमा दोषी ठहर भएका व्यक्ति उम्मेदवार बन्न अयोग्य।
प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा—एक व्यक्तिले एक पदका लागि मात्र सिफारिस पाउने। तोकिएको संख्याभन्दा बढी नाम सिफारिस गर्न नपाइने। प्रतिनिधि सभा उम्मेदवारले नागरिकता, मतदाता परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने। समानुपातिक तर्फ सिफारिस हुनेले नागरिकता, मतदाता नामावली निस्सा, पार्टीले तोकेको प्रतिवद्धता पत्र, आयोगको स्वघोषणा पत्र, व्यक्तिगत एवं सम्पत्ति विवरण पेस गर्नुपर्ने।
पार्टी विधान अनुसार क्रियाशील सदस्यता र लेवी (सहयोग रकम) अनिवार्य बुझाएका व्यक्ति मात्र उम्मेदवार बन्न योग्य। पार्टीकै तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि-२०७९ मा निर्वाचित-यसपालि उम्मेदवार नबन्ने।
कांग्रेसले नयाँ नियम कडाइका साथ लागू गरेपछि यसपटक समानुपातिक सूचीमा व्यापक चेहराको परिवर्तन हुने अपेक्षा गरिएको छ। पार्टी नेतृत्वले यो कदमलाई “नयाँ पुस्ता र नयाँ नेतृत्वलाई अवसर दिन गरिएको सुधार”को रूपमा व्याख्या गरेको छ।























Discussion about this post