झापामा एमाले-रास्वपा कार्यकर्ताबीच झडप, अवस्था नियन्त्रणमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताका क्रममा मंगलबार झापाको दमकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ। उक्त क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार रहेकाले राजनीतिक तातोपन चुलिएको हो।
दमकको गोल्चोक क्षेत्रमा दुवै दलका समर्थक आमनेसामने भएपछि स्थिति तनावग्रस्त बनेको थियो। बालेन शाह उम्मेदवारी दर्ता गर्न जाने क्रममा रास्वपाका समर्थकहरू उनको साथमा पुगेका थिए भने एमाले अध्यक्ष ओली पनि केही बेरपछि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय भएकाले एमालेका कार्यकर्ताहरू ठूलो संख्यामा उपस्थित थिए।
दुई पक्षबीच झण्डा छोइएको विषयलाई लिएर सुरु भएको विवादले झडपको रूप लिएको बताइएको छ। केही समय तनावपूर्ण बनेको अवस्था प्रहरीको सक्रियतापछि नियन्त्रणमा आएको छ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार हाल अवस्था पूर्ण रूपमा नियन्त्रणमा छ। सम्भावित असुरक्षालाई मध्यनजर गर्दै दमक चोक तथा निर्वाचन अधिकृतको कार्यालय आसपासका क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। प्रशासनले शान्ति सुरक्षा कायम गर्न सबै आवश्यक सतर्कता अपनाइएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित