बेलाैरी । पुरानो राजनीति र जरा गाडेको प्रणालीलाई बदल्ने उद्घोषसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जनक सिंह धामी कञ्चनपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनावी मैदानमा उत्रिनुभएको छ।
‘घण्टी’ चुनाव चिन्ह लिएर धामीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो।
मनोनयनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै धामीले देशले अब पुरानै सोच, पुरानै अनुहार र पुरानै कार्यशैलीबाट मुक्ति खोजिरहेको बताउनुभयो। “राजनीति सेवा हो भन्ने मान्यता हराउँदै गएको छ, त्यसलाई पुनः स्थापित गर्न रास्वपा जन्मिएको हो,” उहाँले भन्नुभयो, “कञ्चनपुर-१ बाट जनताको वास्तविक आवाज संसदसम्म पुर्याउने संकल्पका साथ म मैदानमा आएको हुँ।”
रास्वपाले अघि सारेको पारदर्शिता, जवाफदेहिता र नागरिक-केन्द्रित शासन प्रणाली आजको आवश्यकता भएको धामीको दाबी छ। युवापुस्तादेखि आम नागरिकसम्ममा बढ्दै गएको असन्तुष्टि र परिवर्तनको चाहनालाई संगठित रूप दिन रास्वपा सक्षम शक्ति भएको उहाँले उल्लेख गर्नुभयो।
कञ्चनपुर-१ मा लामो समयदेखि दोहोरिँदै आएका पुराना दल र पुराना अनुहारबीच यसपटक जनक धामीको उम्मेदवारीलाई ‘नयाँ विकल्प’का रूपमा हेरिएको छ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, विकासमा परिणाममुखी काम र जनताको दैनिक जीवनसँग जोडिएका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिवद्धतासहित धामीले चुनावी यात्रा सुरु गर्नुभएको छ।
पुरानो सिस्टमलाई चुनौती दिँदै, नयाँ राजनीतिक संस्कारको बहसलाई बलियो बनाउने उद्देश्यका साथ कञ्चनपुर-१ मा रास्वपाको यो उम्मेदवारीले निर्वाचनलाई थप रोचक बनाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।



















Discussion about this post