काठमाडौं । सहिद दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सहिदहरूको बलिदान सम्झिँदै वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर सन्देश दिएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा बालेन शाहले “शहीदको रगतले लेखिएको इतिहास सम्झेर अब शब्द होइन कर्म चाहिन्छ” भन्दै भावुक तर दृढ अभिव्यक्ति दिएका हुन्। उनले सहिद दिवसलाई केवल औपचारिकतामा सीमित नगरी सुशासन र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
“सुशासन र भ्रष्टाचारमुक्त नेपाल नै सच्चा श्रद्धाञ्जली हो,” भन्दै बालेनले सहिदहरूको सपना पूरा गर्न राजनीतिक नेतृत्वले व्यवहारमै परिवर्तन देखाउनुपर्ने धारणा राखेका छन्। उनले लामो समयदेखि देशमा दोहोरिँदै आएको भाषणमुखी राजनीतिप्रति संकेत गर्दै अब परिणाममुखी कर्मको समय आएको स्पष्ट पारेका छन्।
सन्देशको अन्त्यमा बालेन शाहले “सम्पूर्ण शहीदप्रति हार्दिक नमन” व्यक्त गर्दै लोकतन्त्र, गणतन्त्र र नागरिक अधिकारका लागि जीवन आहुति दिने सहिदहरूप्रति सम्मान प्रकट गरेका छन्।
बालेन शाहको यो सन्देशलाई सामाजिक सञ्जालमा धेरैले समर्थन जनाएका छन् भने सहिद दिवसमा आएको यो धारिलो टिप्पणीलाई वर्तमान राजनीतिक संस्कारप्रतिको गम्भीर प्रश्नका रूपमा हेरिएको छ।




















Discussion about this post